साहसिक खेल-पर्यटन ‘हब’ बन्दै फुल्चोकी, माउन्टेन बाइकिङदेखि प्याराग्लाडिङसम्म

काभ्रेपलाञ्चोक । गत शुक्रबार पनौती नगरपालिका–२ फुल्चोकी क्षेत्रमा ३५ साइक्लिङ खेलाडीले ‘मड्डी हिल डाउनिङ साइक्लिङ’ प्रतियोगितामा सहभागिता जनाए । नेपालमै पहिलो मानिएको उच्च पहाडी क्षेत्रअन्तर्गत काभ्रेतर्फको फुल्चोकी जङ्गलको हिलो बाटोमा नगरको संयोजनमा आयोजित प्रतियोगितामा १२ वर्षीय बालकसमेतको सहभागिता थियो ।

पनौती नगरको आर्थिक सहयोगमा गत वर्ष उक्त क्षेत्रमा साइकल मार्ग निर्माण गरिएको थियो । गत वर्षकै चैतबाट त्यस मार्गमा पर्यटन प्रवद्र्धनार्थ पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइक्लिङ आयोजना थालिएको हो । उक्त साहसिक खेल नगरको १ नं वडास्थित सबैभन्दा अग्लो पर्यटकीयस्थल फुल्चोकीडाँडाबाट २ नं वडाको नागीडाँडासम्म छ किलोमिटर साइकिलिङ ‘टे«लरुट’ तय गरिएको छ ।

‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा नेपाल, क्यानाडा र भारतका करिब २०० राइडरले साइक्लिङ गरेका थिए । त्यसयता आन्तरिक तथा बाह्य पर्यटक साहासिक साइकलयात्राका लागि समेत यो मार्ग रोज्ने गरेका छन् ।

फुल्चोकी क्षेत्रलाई सहासिक खेल–पर्यटनका रूपमा विकास गर्न आफूहरू नगरको योजनामा समावेश गरी लागिपरेको पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिए। उनका अनुसार साइक्लिङ टे«लरुटमा खेल आयोजना भइरहने छन् भने थप साहसिक खेल ‘प्याराग्लाइडिङ’ले अनुमति पाउँदा स्थानीय हर्षित भएका छन् ।

नेपाल पर्यटन बोर्डले पनि गत वर्ष असोजदेखि पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवद्र्धनार्थ घुम्ने स्थान र गर्न पाइने गतिविधिलाई मान्यता दिँदै प्रचारमा ल्याएको थियो । यस्तै साहसिक खेल पर्यटनका लागि पनौती उपयुक्त स्थान रहेको जनाउँदै नगरमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक–क्लाइमिङजस्ता खेल गर्न सकिने बोर्डले जनाएको छ । बोर्डले पनौतीको ऐतिहासिक एवं पर्यटकीयस्थललाई प्राथमिकीकरण गरी प्रचारमा ल्याएको हो ।

बोर्डका अनुसार पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल (लो–ल्याण्ड ट्रेक), साँगा–पनौती हाइक (कम्युनिटी हाइक), गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फुल्चोकी वरिपरि), बर्ड वाचिङ (चराको दृश्यावलोकन), योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमण गर्नुपर्ने जनाइएको छ ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फुल्चोकी एड्भेन्चर प्रालिलाई गत साउनमा काभ्रेपको पनौती नगरस्थित फुल्चोकी क्षेत्रमै व्यावसायिकरूपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति दिएको छ ।

उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको जनाइएको छ । प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान गर्ने तयारी गरिने प्रालिका अध्यक्ष छविलाल हुमागाईँले बताउए । “प्राधिकरणले प्राविधिक प्रक्रियाको काम सकेर सञ्चालन निर्देशन जारी भएलगत्तै व्यावसायिकरूपमा सञ्चालन गर्नेछौँ”, उनले भने ।

सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण २६ वर्षदेखि त्यहाँ सञ्चालित प्याराग्लाइडिङ व्यवसाय अन्योलमा परिरहेका बेला मन्त्रालयले पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमति दिएपछि फुल्चोकी क्षेत्र साहसिक खेल–पर्यटन ‘हव’उन्मुख भएको हो ।

सो क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दुमडाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला १५ प्याराग्लाइडिङद्वारा तीन दिन परीक्षण उडान गरिएको थियो भने अन्य दुई समयमा पनि परीक्षण भइसकेको छ ।

उडान भर्ने स्थान, ल्यान्डिङ, हावाको चाप, तथा अन्य वातावरण अनुकूल भएकाले हाल अनुमति पाएको जनाइएको छ । प्याराग्लाइडिङ सञ्चालनका सबै प्रक्रिया पूरा गर्न अब एक महिना लाग्ने भएकाले सम्भवतः आउँदो असोजदेखि व्यावसायिक उडान भर्ने योजना बनाइएको अध्यक्ष हुमागाईँले बताए।

उनका अनुसार दैनिक १० प्याराग्लाइडिङले बिहान १० देखि अपराह्न ४ बजेसम्म उडान अनुमति पाएको हो । तोकिएको समयमा ६ हजार ५०० फिट उचाइसम्म ‘भिजीबिलिटी’ रहने जनाइएको छ ।

कुशादेवी विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । प्याराग्लाइडिङ गुर्दुमडाँडाबाट उडान सुरु गरी कुशादेवीको बन्चरेटारमा ल्यान्डिङ हुन्छ । गुर्दुमडाँडाबाट बन्चरेटार सडकको दूरीका हिसाबले चार किलोमिटर हो ।

तर प्याराग्लाइडिङको दूरी करिब १ हजार ५० मिटर छ । उडान भर्ने स्थान समुद्री सतहबाट २ हजार ३५० मिटर उचाइमा छ भने ल्यान्डिङ हुने स्थान बन्चरेटार १ हजार ३०० मिटरमा छ । रासस

लघुवित्तको संख्या ६५ मा झर्‍यो, अझै ८ वटाले आइपीओ जारी गर्न बाँकी Read Previous

लघुवित्तको संख्या ६५ मा झर्‍यो, अझै ८ वटाले आइपीओ जारी गर्न बाँकी

साउनमा झन्डै २ अर्बको बिजुली निर्यात, थप ४ हाइड्रोको बिजुली विक्रीको प्रस्ताव Read Next

साउनमा झन्डै २ अर्बको बिजुली निर्यात, थप ४ हाइड्रोको बिजुली विक्रीको प्रस्ताव