Advertisement Section

खेर जाने अलैँचीको डाँठबाट हस्तकला, ५० प्रकारका सामान उत्पादन

"२० जनालाई रोजगार"

Advertisement Section

काठमाडौं । देशभर १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा अलैँची रोपिन्छ । सो क्षेत्रमा कुल ८ हजार २८९ मेट्रिकटन अलैँची उत्पादन हुन्छ । अलैँचीका दाना मसलाको रुपमा विक्री हुने गर्छ ।

तर, त्यसको डाँठ (सरा) भने कुनै पनि प्रयोगमा ल्याउने गरेको पाइँदैन । यसरी खेर जाने गरेको अलैँचीको डाँठलाई नै आम्दानीको स्रोत बनाउन सफल भएकी छिन् ताप्लेजुङकी माया गुरुङ ।

उनले खेर गइरहेको अलैँचीको डाँठलाई प्रयोगमा ल्याउन धेरै प्रयोग गरिन् । उनले यसबाट चकटी बन्छ कि भनेर धेरै कोशिस गरेकी थिइन् । सधैं परालको डाँठमा बुट्टा भर्न प्रयोग हुने अलैँचीका सरा नमक्किने तर पराल छिटै मकिएर जाने गरेको देखेर उनले यसबाट के–के बाउन सकिन्छ भनेर आफैं विभिन्न सामान बनाउने प्रयास गर्दै गइन् ।

अलैँचीको डाँठबाट चकटी लगायत वस्तु बनाउन सफल भएपछि सिलाइबुनाईमा सिपालु उनले २०६८ सालमा चन्दन फाइबर उद्योगको नाममा कम्पनी समेत दर्ता गराएकी थिइन् । चकटीबाट सुरू भएको अलैँचीको हस्तकला हाल ५० प्रकारमा सामानमा फैलिएको छ ।

‘अलैँचीका दाना निकाले बोट त्यतिकै फ्याक्ने गरिन्थ्यो, मल पनि नहुने र गाईवस्तुले समेत नखाने भएर खेर जाने हुन्थ्यो, यसले के चाहिँ बन्छ भनेर सोच्दै गर्दा हस्तकला क्षेत्रमा प्रवेश गरे,’ गुरुङले चाणक्य पोष्टसँग भनिन् ।

उनले अहिले अलैँचीको सराबाट ५० प्रकारका सामग्री बनाउँछिन् । पिर्का, टी कोष्टर, हट म्याट, डक्की, मुडा, चकटी, टेबुल रनर, ब्याग, फाइल ब्याग, पर्सलगायतका वस्तु बनाएर बेच्ने गर्छिन । उनले यसको उत्पादनको क्रममा आफ्नै गाउँमा २० जनालाई रोजगार समेत दिएको बताइन् ।

उनले यसबाट बनेको सामग्री १०/१५ वर्षसम्म चलाउन सकिने र यो हत्तपत्त नमकिने गरेको बताइन् । यसको कलर समेत अन्य सामग्रीको जस्तो डिस्कलर भएर नजाने उनले बताइन् ।

सुरूमा २ वर्ष निकै दुःखले संस्था चलाएकी उनले महिला हस्तकला महासंघमा प्रवेश गरेपछि भने केही सहज भएको बताइन् । उनले सुरूमा १ लाख ५० हजार रुपैयाँ खर्च गरेर आफ्नो हस्तकला उत्पादन सुरू गरेकी थिइन् । हाल उनले यसबाट वार्षिक २५ लाख रुपैयाँ हाराहारीमा आम्दानी गर्दै आएकी छन् ।

उनले किसानहरूबाट अलैँचीका सरा किन्ने गरेकी छन् । उनले किसानबाट ४० रुपैयाँ केजीमा अलैँचीको सरा किन्ने गरेको बताइन् ।

भदौदेखि कात्तिक महिनासम्म अलैँची उत्पादन हुने समय भएकाले सोही समयमा उनले अलैँचीका सरा किन्ने गर्छिन । अलैँचीका सरा काँचै किन्ने गर्दा ४ वटा अलैँचीको सराले केजी पुग्ने गर्छ । सुकेको अलैँचीको सरा १५०० रुपैयाँ प्रतिकेजीसम्म पर्ने गरेको उनले बताइन् ।

अलैँचीको सरा किनेर सुकाएर गाउँकै महिलाहरूलाई रोजगार दिँदै उनले यसलाई जिल्लादेखि काठमाडौंका बजारसम्म पुर्याएकी छन् । बजारमा पाइने अलैँचीबाट बनेका सराको हस्तकलाहरूको मूल्य मूल्य ७५ रुपैयाँदेखि ४५ सय रुपैयाँसम्म पुराइएको छ ।

‘अलैँचीको सार किनेर यसबाट हस्तकला सामग्रीहरू बनाउन धेरै समय लाग्ने भएकाले महंगो हुने गरेको छ,’ गुरुङले भनिन् ‘तर यस्तो दुःख सबैले बुझ्दैनन् ।’

उनले अलैँचीको सराबाट बनेका यस्ता हस्तकला सामग्रीहरू वार्षिक २ हजार पिस हाराहारीमा उत्पादन गर्ने गरेको बताइन् । उनले ५० थरी सामग्रस् अलैँचीका सराबाट उत्पादन गर्छिन । उनले सरकारबाट अझै सहयोग पुगे निर्यातमा समेत पुर्याउन योजना रहेको बताइन् ।

 

लिबर्टी इनर्जीसहित ४ हाइड्रोको बिजुली जोडिँदै, वैकल्पिक प्रसारण लाइन तयार Read Previous

लिबर्टी इनर्जीसहित ४ हाइड्रोको बिजुली जोडिँदै, वैकल्पिक प्रसारण लाइन तयार

पिपुल्स पावरको आइपीओ भर्ने आज अन्तिम दिन  Read Next

पिपुल्स पावरको आइपीओ भर्ने आज अन्तिम दिन