काठमाडौं । पिपुल्स पावर लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ) भर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले सर्वसाधारणका लागि साउन ३१ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
निष्काशन भएको कुल सेयरमध्ये २ प्रतिशत कम्पनीका कर्मचारीलाई र १ लाख २३ हजार ३७० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषहरुमा छुट्याइएकाे छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता साधारण सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा ‘मेरो सेयर’को वेबसाइट र मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।
कम्पनीले इलामको इलाम नगरपालिका–१ र ४मा पर्ने पुवा खोलामा ४.९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । उक्त कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी–बीबी आइएस’ ग्रेडिङ प्रदान गरेको छ ।