काठमाडौं । नेपाललाई कृषि प्रधान मुलुक भनिन्छ । तर, तरकारीदेखि खाद्यान्नमा समेत विदेशकै भर पर्नुपर्ने अवस्था छ । वार्षिक ३ खर्ब बढीको खाद्यान्न र तरकारी आयात हुने गरेको छ ।
व्यवसायिक खेती प्रणाली नअपनाउनु, मल, उन्नत जातको बीउ, सिचाइँ सुविधा लगायतको अभावले उत्पादन वृद्धि हुन सकेको छैन । जसकारण वर्षेनी खर्बौं रुपैयाँको कृषिजन्य वस्तु आयात गर्नुपर्ने बाध्यता छ ।
नेपालको जुनसुकै ठाउँमा उत्पादन गर्न सकिने तरकारी समेत ठूलो परिमाणमा भारत लगायत मुलुकबाट आयात गरिन्छ । गत आर्थिक वर्षमा मात्रै १६ अर्ब बढीको तरकारी आयात भएको छ ।
नेपालका दूरदराजका गाउँमा समेत तरकारी उत्पादन गर्न सकिने भए पनि बजार अभावका कारण कृषकहरु तरकारीखेती प्रति आकर्षित हुन सकेका छैनन् ।
नोपलमा मागको झन्डै आधा मात्र तरकारी उत्पादन हुने गरेको बताइन्छ । नेपालमा २ लाख ८४ हजार १२१ हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन हुन्छ । उक्त क्षेत्रफलमा ३९ लाख ९३ हजार १६७ मेट्रिकटन तरकारी मात्र उत्पादन हुने गर्छ । ताजा तरकारीको उत्पादकत्व १४.०५ मेट्रिकटन प्रति हेक्टर रहेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा २ लाख ७० हजार २७८ मेट्रिकटन तरकारी भित्रिएको थियो । सो मध्ये २९.३३ प्रतिशत वस्तु भारतीय बजारबाट भित्रिएका थिए ।
धेरै खपत हुने तरकारी कति हुन्छ उत्पादन ?
आलु, प्याज, गोलभेँडा, काउली लगायत तरकारीहरु धेरै खपत हुने तरकारी हुन् । आर्थिक वर्ष २०७८/७९ मा कुल ८ अर्ब १९ करोड २ लाख ८३ हजार रुपैयाँ बराबरको आलु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । उक्त मूल्यमा ३२ करोड ७७ लाख २४ हजार केजी आलु आयात भएको हो ।
आलुका लागि कृषि मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकिकरण अन्तर्गत जोन र सुपर जोन बनाएर उत्पादन बढाइरहेको मन्त्रालयका प्रवत्ता प्रकाशकुमार सन्जेलले बताए । उनका अनुसार पछिल्लो समय आलुको उत्पादन बढ्दो रहेको छ । २ वटा सुपर जोन अन्तर्गत डडेलधुरा र काभ्रेमा आलुको सुपरजोन बनाई व्यवसायीक रुपमा उत्पादन भइरहेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार आलु ३३ लाख २५ हजार मेट्रिकटन उत्पादन हुन्छ । आलु उत्पादन ६.२ प्रतिशत बवृद्धि भएको हो । यसको उत्पादकत्व २०.६ मेट्रिकटन प्रति हेक्टर रहेको छ । १ लाख ९८ हजार ७८८ हेक्टर क्षेत्रफलमा आलु उत्पादन हुने गर्छ ।
यस्तै, प्याज ६ अर्ब १७ करोड ५ लाख रुपैयाँ बराबरको आयात भएको थियो । सो मूल्यमा १६ करोड ८५ लाख ४० हजार केजी प्याज आयात भएको थियो । नेपालमा हाल ५ लाख मेट्रिकटन बढि प्याज माग रहेको छ । भारतबाट साढे ३ लाख मेट्रिकटन प्याज आयात हुने गरेकोक छ ।
कृषि मन्त्रालयको तथ्यांक अनुसार नेपालमा सरदर २ लाख ३० हजार मेट्रिकटन प्याज उत्पादन हुने गरेको छ । नेपालमा भारतबाट ९० प्रतिशत बढी प्याज आयात हुने गरेको छ । प्याजमा समेत सरकारले जोन अन्तर्गत विभिन्न स्थानमा उत्पादन बढाउने काम गर्दै छ ।
‘हामीले उत्पादन बढाई रहेका छाैं तर ३/४ समय खाने बढाएको कारणले खपत बढि भएर आयात पनि बढिरहेको छ, सन्जेलले चाणक्य पोष्टसँग भने ।
यस्तै, गत वर्ष गोलभेँडा मात्रै ६३ करोड १२ लाख ४ हजार रुपैयाँ बराबरको आयात भएको थियो । सो मूल्यमा ४ करोड ७५ लाख ६३ हजार केजी गोलभेँडा आयात भएको थियो ।
देशमा वार्षिक १६० हेक्टर क्षेत्रफलमा गोलभेँडा उत्पादन हुने गर्छ । उक्त क्षेत्रफलमा ३ हजार २८० मेट्रिकटन गोलभेँडा उत्पादन हुन्छ ।
यस्तै, देशको कुल ९ हजार ७८४ हेक्टर क्षेत्रफलमा ७२ हजार ४९० मेट्रिकटन लसुन उत्पादन हुन्छ । गत वर्ष १ अर्ब ५ करोड २५ लाख ५६ हजार रुपैयाँ बराबरको लसुनआयात भएको थियो । सो मूल्यम ९१ लाख ४० हजार केजी लसुन आयात भएको थियो ।