भारतीय व्यवसायीलाई नेपालको जलविद्युत र पर्यटनमा लगानी गर्न ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमणमा रहेका भारतीय व्यवसायी प्रतिनिधिलाई नेपालको जलविद्युत र पर्यटन पूर्वाधारको विकासमा लगानी गर्न आग्रह गरेका छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल भ्रमणमा आएका उत्कल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, उडिसाका प्रतिनिधि र नेपाली उद्योगी/व्यवसायी बीचको अन्तरक्रियालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले नेपालको जलविद्युत, सूचना प्रविधि र पर्यटन क्षेत्रमा लगानि गर्न आह्वान गरेका हुन् ।

उनले नेपाल दुई ठूला र उदीयमान अर्थतन्त्रको बीचमा रहेको हुनाले नेपालको रणनीतिक स्थानले पर्याप्त बजार र लगानीको अवसर प्रदान गरेको बताए।

‘हामी दुई ठूला र उदीयमान अर्थतन्त्रका बीचमा छौं । भारत, चीन, ईयू र आंशिक रूपमा अमेरिकामा पनि नेपाली सामानलाई भन्सारमा सहुलियत छ । यहाँ लगानी गर्ने अधिकांश बहुराष्ट्रिय कम्पनीहरूले राम्रो नाफा कमाएका छन्,’ उनले भने।

उनले नेपाल भारतसँग विशेष ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको बताउँदै भारतीय व्यापारी समुदायलाई नेपाली व्यापारी समुदायसँग पनि व्यापार सम्बन्ध विस्तार र सुदृढ गर्न आग्रह गरे।

‘यस भ्रमण दलका प्रतिनिधिहरुबाट नयाँ स्तरको सहकार्यको थालनी गरेर व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रयास गरौं । सबैजना सदस्यले एकएक वटा व्यवसायमा लगानी गर्ने प्रतिवद्धता व्यक्त गरौँ,’ उनले भने, ‘नेपाल र भारतबीच व्यापारिक सम्बन्धको प्रचुर सम्भावना छ

भ्रमण दलका प्रतिनिधि र नेपाली व्यापारी समुदायबीचको आजको अन्तरक्रियाले व्यावसायिक सहयोग मूर्त परियोजनामा परिणत हुनेमा म विश्वस्त छु,’ उनले भने ।

ढकालले नेपालले भारतसँगको व्यापार र लगानी सम्बन्धलाई थप सुदृढ गर्दै भारतको आपूर्ति र मूल्य शृङ्खलालाई एकीकृत गरी दुवै देशले एक अर्काको फाइदा लिन सक्ने बताए।

‘नेपाली निजी क्षेत्र सधैं झैं भारतीय आर्थिक पुनरुत्थान र समृद्धिको हिस्सा बन्न आतुर छ । हामी हाम्रो द्विपक्षीय व्यापार सम्बन्ध र सहयोगलाई सुदृढ गर्न तयार छौं,’ उनले भने

छैटौं अन्तर्राष्ट्रिय महिला व्यापार प्रदर्शनी मेला सुरू (फोटोफिचर) Read Previous

छैटौं अन्तर्राष्ट्रिय महिला व्यापार प्रदर्शनी मेला सुरू (फोटोफिचर)

एनएमबी बैंकले ल्यायो विशेष सुविधायुक्त 'स्मार्ट नारी बचत खाता' Read Next

एनएमबी बैंकले ल्यायो विशेष सुविधायुक्त 'स्मार्ट नारी बचत खाता'