काठमाडौं । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुको खुद नाफामा भारी गिरावट आएको छ । अघिल्लो आवमा ३ अर्ब ७६ करोड कमाएका बीमा कम्पनीहरुको खुद नाफा ३३.२१ प्रतिशतले घटेर २ अर्ब ५१ करोडमा सिमित भएको हो । निर्जीवन बीमा कम्पनीहरुको नाफा केही बढेपनि जीवन बीमा कम्पनीहरुको खुद नाफा आर्जनमा भने उच्च गिरावट आएको छ ।
व्यवसाय विस्तार गर्न नसक्दा तथा अस्वस्थ प्र्रतिस्प्रर्धाका कारण पछिल्लो समय जविन बीमा व्यवसाय कमजोर बन्दै गएको छ । जथाभावि एजेन्टहरुको नियुक्ति गरेर जबरजस्ति पोलिसी वितरण गर्दा सरेन्डर गर्नेहरुको संख्या बढ्दो छ । जसको कारण पनि नाफा आर्जनमा बाधा पुगेको देखिन्छ ।
पूँजी वृद्धिको दबाबमा रहेका कम्पनीहरुको व्यवसाय खस्कदा कतिपय अस्तित्वको संकटमा छन भने कोही मर्जरका लागि सम्झौता गरेर एकिकृत कारोबारको तयारीमा छन् ।
गत आवमा सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ४० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सबैभन्दा धेरै नाफा घट्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीको नाफा गत वर्ष ३५ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।
गत वर्ष सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यस कम्पनीले १० करोड ६० लाख बाट १ वर्षमा १०२.२७ प्रतिशतले बढाएर २१ करोड ४६ लाख पुर्याएको छ ।
कुल १९ वटा जीवन बीमा कम्पनीहरु मध्ये ९ वटाको नाफा घटेको छ भने १० कम्पनीको बढेको प्रकाशित वित्तीय विवरणहरुले देखाउँछ ।
नेपाल लाइफ र कर्पोरेसनको नाफा ऋणत्मक
नेपाली जीवन बीमा क्षेत्रमा लामो अवधिदेखि एकोहोर व्यवसाय विस्तार गरिरहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको व्यापार खस्किएको छ ।

संञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरु मध्ये यस कम्पनीको नाफा ३५ करोड २७ लाख रुपैयाँ ऋणत्मक रहेको छ । अघिल्लो आवमा ५३ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको यस कम्पनीको व्यवसाय गत एक वर्षमा १६५.८२ प्रतिशतले घटेको छ ।
यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको पनि नाफा ८ करोड ७४ लाख रुपैयाँले घटेको छ । यस कम्पनीले गत आवमा १९ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत वर्ष भने १४५.८० प्रतिशतले घटेको छ ।
यी १० कम्पनीको नाफा बढ्यो
सबैभन्दा धेरै खुद नाफा वृद्धि गर्नेमा सन नेपाल शीर्ष स्थानमा रहेको छ । यस कम्पनीले गत आवमा २१ करोड कमाएको छ । दोस्रोमा ज्योती लाइफले ८३.९८ प्रतिशतले खुद नाफा वृद्धि गर्न सफल भएको छ ।
रिलायन्स लाइफले ७४.११ प्रतिशतले नाफा बढाउँदा सानिमा लाइफले ५४.८२ प्रतिशतले बढाएको छ । यसैगरी,गुरासले ४४.२७,राष्ट्रिय बीमा संस्थानले २७.५०,महालक्ष्मी २४.४१,रिलायबल २१.६५,नेशनल लाइफ १.९१ र सिटिजन लायफको नाफा ०.१८ प्रतिशतले बढेको छ ।
यी ९ कम्पनीको नाफा घट्यो
सबैभन्दा धेरै नाफा घट्नेमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसनको नाफा १४५.८० प्रतिशतले घटेको छ ।
युनियन लाइफको नाफा ९०.२३ प्रतिशतले घटेको छ भने प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ५७.४३ प्रतिशतले घटेको छ । यसैगरी, एसियन लाइफको नाफामा ३३.३८ प्रतिशतले गिरावट आएको छ ।