कछुवाको गतिमा मुग्लिन-पोखरा सडक विस्तार, वर्षदिनमा जम्मा २ प्रतिशत प्रगति

" मादी नदीमा ४ लेनको पुल बनाइने"

काठमाडौं । ठेक्का अवधिको एक वर्ष बित्नै लाग्दा पृथ्वीराजमार्ग (मुग्लिन–पोखरा) सडकको हालसम्मको प्रगति २ प्रतिशतको हाराहारी छ । चार लेन विस्तारका लागि दुई प्याकेजमा ठेक्का सम्झौता भएकामा एउटामा प्रगति १ प्रतिशत र अर्कोमा ३.५ प्रतिशत छ ।

सो सडक चार लेनमा विस्तार गरिने भएपनि बजारमा थप दुई लेन ‘सर्भिस लेन’ निर्माण गरिने सडक विभागका महानिर्देशक अर्जुनजङग थापाले जानकारी दिए ।  मादी नदीमा चार लेनको नयाँ पुल बनाइने भएको छ । हाल रहेको पुल पुरानो भएको र आयू कम भएकाले हेर्दा आकर्षक पुल निर्माण गर्न लागिएको हो । जम्मा ८०.३३ किलोमिटर लम्बाइको सडकको स्तरोन्नति विसं २०७६/७७ मा सुरु भएको थियो ।

सो योजनाको अवधि आव २०८५/८६ सम्म रहेको छ । ठेक्का अङ्कअनुसार योजनाको लागत १३.६२ अर्ब छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) अर्थात आबुखैरेनीबाट–जामुने भज्याङसम्मको निर्माणको ठेक्का चाइना कम्युनिकेशन कम्पनी लिमिटेडलाई दिइएको थियो ।  सो ठेक्काको सम्झौता विसं २०७८ वैशाख २ गते भएको थियो । कुल ४१.४५ किमीमध्ये १.५२ किमी सहरी क्षेत्र र गैर सहरी क्षेत्रमा ३९.९३ किमी छ । पहिलो ठेक्कामा वित्तीय प्रगति मोबिलाइजेसन पेश्किसहित १५ प्रतिशत थियो ।

निर्माण सुरु भएको आठ नौ महिना गइसकेको भए पनि निर्माणको गति कम देखिएको महानिर्देशक थापाले बताए । सो ठेक्कामा तीन वर्ष निर्माण, एक वर्ष मर्मत र त्यसपछि पाँच वर्ष सम्भारको अवधि गरी जम्मा नौ वर्षसम्म कम्पनीसँग सम्झौता रहने छ । निर्माण गरेकै कम्पनीले मर्मत गर्नुपर्ने हुँदा राम्रो गर्नुपर्ने छ । उनले भने, ‘अरु धेरै ठेक्कामा एक वर्ष मर्मत गरेपछि त्यो कटाएर जाने थियो ।’

पहिलो ठेक्कामा १४१ स्ल्याब कल्भर्टमध्ये १८ मा काम भइरहेको छ । चार सम्पन्न भइसकेको छ । त्यस्तै, २५ बक्स कल्भर्टमध्ये आठ वटामा काम भइरहेको र दुई सम्पन्न भएको छ ।

सो खण्डमा २४ माइनर (साना) पुलमध्ये तीन सम्पन्न भइसकेको र तीन ठूला पुलमध्ये एक निर्माणाधीन छ । अहिलेसम्म २५.३ किमीमा माटो काटी सडक विस्तार भएको र टेवा पर्खालको काम भइरहेको छ ।

पश्चिम खण्ड (जामुने भज्याङदेखि पोखरा पृथ्वीचोकसम्म) निर्माणको ठेक्का चिनियाँ कम्पनी ‘एनहुई केयुयन हाइवे एण्ड ब्रिज’ कम्पनी लिमिटेडलाई विसं २०७८ जेठ ३ गते दिइएको थियो । जम्मा ३८.८८ किमीमध्ये १८.५९ किमी सहरी क्षेत्र र २०.२९ किमी गैर सहरी क्षेत्र छ  । सो खण्डमा १.८ किमी सडकमा माटो काटी सडक विस्तार गर्नुपर्नेछ ।

अवधि केही गए पनि काम आशा गरिए अनुसार नभएको विभागले जनाएको छ । यो ठेक्कामा पनि निर्माण, मर्मत र सम्भार गरी नौ वर्ष समय छ ।  दोस्रो ठेक्कामा हालसम्मको प्रगति एक प्रतिशत र वित्तीय प्रगति मोबिलानइजेशन पेश्कीसहित ७.५ प्रतिशत छ । सो खण्डमा ७८ स्ल्याब कल्भर्ट, ३५ बक्स कल्भर्ट र साना र ठूला पुल निर्माणको तयारी अघि बढेको योजनाले जनाएको छ ।

अपेक्षा गरिएको भन्दा न्यून प्रगति हुनुको कारण कोभिड सङ्क्रमण पनि रहेको विभागका महानिर्देशक थापाले बताए। निर्माणको काम सुरु भएपनि चीनबाट दक्षजनशक्ति र उपकरण ल्याउन बाधा भएको जनाइएको छ । दोस्रो लहरको समयमा कतिपय कामदारलाई सङ्क्रमण देखिएकाले कार्यरत कामदार घट्दै गएका थिए । तेस्रो लहरको समयमा पनि कामदार घटेको र उपकरण ल्याउन नसकिएको उनले बताए ।

निर्माण व्यवसायीबाट समयमानै  आवश्यक स्रोतसाधन जुटाउन नसकेको महानिर्देशक थापाले बताए । परामर्शदाताको निर्देशन ढिला गरी पालना गर्ने गरेको र पटक–पटक प्रतिबद्धता पेश गर्ने तर पूरा नगर्ने हुँदा समस्या देखिएको छ ।

निर्माणस्थलमा विद्युत् प्राधिकरणको प्रशारण लाइन र वितरण लाइन दुबै छ । विद्युतीय संरचनाको स्थानान्तरण भइरहेको छैन । प्राधिकरणका कार्यकारी निर्देशकसँग कुरा भइरहेको महानिर्देशक थापाले बताए । सो कामका लागि हाल लागत अनुमान प्राप्त नभएको उनले बताए ।

त्यस्तै, खानेपानीको संरचना हटाउन पनि समस्या रहेको योजनाले जनाएको छ । जामुनेदेखि सेती नदी पुलसम्म सडकको स्तरोन्नति गर्न सो क्षेत्रमा खानेपानी संस्था र उपभोक्ता समितिका पाइप लाइन तथा संरचना रहेका छन् । उनले भने, ‘सबै संस्था र समितिबाट योजनाबाटै तीनको स्थानान्तरण गरिनुपर्ने माग भएको र हाल स्थानान्तरणको लागत सङ्कलन भइरहेको छ ।’

सडक चौडा गर्ने क्रममा ढुङ्गा र माटो निस्के पनि निर्माण सामग्रीमा स्थानीय तहबाट ‘हाम्रो हो’ भनेर रोयल्टी माग भएको र ढुवानी गर्दा पनि शुल्क तिर्नुपर्ने अवस्था रहेको महानिर्देशेक थापाले बताए । सो विषयमा जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमार्फत स्थानीय सरकारसँग पटक–पटक छलफल हुँदासमेत समाधान हुन नसकेको उनले बताए ।

सडक निर्माणका लागि अत्यधिक मात्रामा नदीजन्य सामग्री आवश्यक पर्ने र सेती नदी तथा आसपासका क्षेत्रबाट निर्माण सामग्री उत्खनन गर्ने उल्लेख छ । स्थानीय तहबाट सो सामग्रीको ठेक्कापट्टा हुँदा योजनालाई निर्माण सामग्रीको अभाव हुने देखिएको महानिर्देशक थापाले बताए । त्यसले गर्दा ढिलाइ हुने अवस्था छ । उनले भने, ‘यहाँ मात्रै होइन देशभरमानै नदीजन्य सामग्री पाउन गाहे हुँदा निर्माणमा समस्या छ ।’

अमरसिंह चोकदेखि विजयपुर पुलसम्मको सडकमा उत्तरतर्फको ठूलो क्षेत्रमा आकाशे पानी तथा नहर र कुलोको पानी सडकमा नै आउने अवस्था छ । सडकको दक्षिणी भेगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा रहेकाले पानीको ‘क्रसिङ’ गर्नसक्ने अवस्था छैन ।

अहिले वर्षाको समयमा आबुखैरेनीदेखि मुग्लिनसम्म ठाउँठाउँमा पहिरो जाने ठाउँ रहेकाले त्यसको समाधान गरिने छ । पानी जम्ने र नाली थुन्ने समस्या रहेकाले सडक भासिने हुँदा व्यवसायीले खुलाइरहेका छन् । हाल विस्तारकै क्रममा रहेको नारायणगढ–बुटवल सडकमा निर्माणस्थल खाली हुन लामो समय लागेकै कारण अवधि सकिँदासमेत प्रगति न्यून छ । पृथ्वीराजमार्गको विस्तारमा सुरुमा निर्माणस्थल खाली गर्न समस्या देखिएकाले सोही ढिलाइ दोहोरिन सक्ने आशङ्का भइरहेको छ ।

गत साता प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा सांसद्हरुले यो सडक निर्माण सुरु हुँदादेखि नै ढिलाइ भइरहेको भन्दै विभागको ध्यानाकर्षण गराएका थिए ।

चीन सरकारको सहयोगमा सन् १९७४ मा १७४ किमी लम्बाइको नौबिसे–पोखरा खण्डको निर्माण भएको थियो । पहिले सडक एक लेन रहेकमा आव २०४९/५० मा दुई लेन विस्तार गरिएको थियो । मुग्लिनबाट १५/१६ किमीसम्म दुई लेन र त्यहाँबाट पोखरासम्म ‘इन्टरमिडियट लेन’ रहेको थियो । अहिले विश्व बैंकबाट ऋण सहयोगमा निर्माण सुरु गरिएको छ । सडक चार लेनमा विस्तार गर्ने  अवधारणाअनुसार विश्व बैंकबाट ऋण सम्झौता गरिएको छ ।

अर्थसचिव कृष्णहरि पुष्करले लिए राष्ट्र बैंक सञ्चालकको सपथ Read Previous

अर्थसचिव कृष्णहरि पुष्करले लिए राष्ट्र बैंक सञ्चालकको सपथ

गरिमा क्यापिटलको सीईओमा निर्मल भट्टराई नियुक्त Read Next

गरिमा क्यापिटलको सीईओमा निर्मल भट्टराई नियुक्त