काठमाडौं । सरकारले आजदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिबन्धमा लगाएको छ ।
वातावरण विभाग भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात,विक्री, वितरण तथा प्रयोग प्रतिबन्ध लगाएको हो ।
विभागले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक उत्पादन, विक्री र प्रयोग भए नभएको बारे अनुगमन थाल्ने जनाएको छ । यदि कसैले अटेर गरी उत्पादन तथा प्रयोग गरेमा वातावरण संरक्षण ऐन अनुसार कारबाही गरिने विभागले प्रष्ट पारेको छ ।
ऐन अनुसार प्लास्टिकको झोला आयात, उत्पादन, विक्री तथा प्रयोग गर्नेले १० लाख रुपैयाँसम्म नगद जरिवाना, उत्पादन तथा आयात गर्ने कम्पनीलाई ५ वर्षसम्म कालोसूचीमा राख्ने व्यवस्था छ। साथै अदालती कारवाही र जेल सजायसम्म हुने पनि भनिएको छ।
यसअघि पनि वन तथा वातावरण विभागले प्लाष्टिक झोला उत्पादन, विक्री वितरण तथा प्रयोगमा कडाइ गरेको थियो। तर कोरोनाका बेला अनुगमन फितलो हुँदा फेरि प्लाष्टिक झोला उत्पादन र प्रयोग वृद्धि हुँदै गएको पाइएको विभागको भनाइ छ।
यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागू हुनेगरी यो नियम बनाएको थियो । तर, त्यही महिना भूकम्प गएका कारण कार्यान्वयन हुन सकेन । गएको वर्ष साउन २८ गते सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध लगाउन अन्तरिम आदेशसमेत दिएको थियो ।