काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने धमाधम कारबाहीमा पर्न थालेका छन् । दूर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीले अप्रेशन चलाएपछि नियम उल्लंघन गर्नेहरु कारबाहीमा पर्न थालेका हुन् ।
यसैक्रममा, बुधबार एकैदिन काठमाडौं उपत्यकामा ३१८७ जना ट्राफिक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ तथा मातहतका कार्यालयहरुले गरेको चेकजाँचमा उनीहरु कारबाहीमा परेका हुन् ।
ट्रफिक प्रहरीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७९, लेन अनुशासन पालना नगर्ने १२८, रेड लाइटमा सवारी साधन चलाउने ११६, निषेधित क्षेत्रमा हर्न बजाउने १४६ र नम्वर प्लेट देखिने गरी नराख्ने २३ जना सवारी चालक रहेका छन्। यस्तै, २ हजार ५९५ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ।
मादक पर्दाथ सेवन गरेर सवारी चलाउने, लेन अनुशासन नमान्ने, ट्राफिक लाइट पालना नगर्ने चालकलाई ट्राफिक प्रहरीले सचेतना कक्षासहित जरिवाना गर्छ।