काठमाडौं । गत आर्थिक वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई १० खर्ब ०७ अर्ब ३१ करोड पुगेको छ । यो नेपाल भित्रिएको हालसम्मकै धेरै रेमिट्यान्स हो । अघिल्लो आवमा इतिहासकै सबैभन्दा धेरै ९ खर्ब ६१ अर्ब भित्रिएको थियो ।
गत वर्षको सुरुआती महिनामा रेमिट्यान्स आप्रवाहमा गिरावट आएपनि अन्त्यतिर भने बढोत्तरी भएको हो । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक
अनुसार अघिल्लो वर्षको रेमिट्यान्स आप्रवाह वृद्धिको तुलनामा गत वर्ष वृद्धि हुन् नसकेपनि १० खर्ब नाघेर नयाँ किर्तिमान राखेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो ।
समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३,५४,६६० पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले वृद्धि भई २,८२,४५३ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ४६.८ प्रतिशतले घटेको थियो ।
अघिल्लो वर्ष कोभिड महामारीले वैदेशिक रोजगारीमा जानेको संख्या घटेकोमा पछिल्लो समय बढेको छ । वित्तीय प्रणालीमा भएको तरलता अभाव र घट्दो विनिमय संचितिमा यसले राहत पुर्याएको छ ।