काठमाडौं। विश्वकै ठूलो तेल निर्यातकर्ता साउदी अरबको कम्पनी साउदी अरामको विश्वकै सबै भन्दा धेरै नाफा कमाएउने कम्पनी बनेको छ । रुस युक्रेन युद्धका कारण तेलको मूल्य बढ्दा साउदी आरामको नाफामा उल्लेख्य वृद्धि भएको हो ।
यो कम्पनीले सन् २०२२ को दोस्रो त्रैमासमा ४८ अर्ब ४० करोड डलर खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९० प्रतिशत बढी हो भने चालु वर्षको पहिलो त्रैमासको तुलनामा ९ अर्ब बढी हो । कम्पनीले यस वर्षको पहिलो त्रैमासमा ३९ अर्ब ५० करोड अमेरिकी डलर खुद आम्दानी गरेको थियो ।
सन् २०२२ को ६ महिनामा कम्पनीले ८७ अर्ब ९१ करोड डलर (करिब ११० खर्ब नेपाली रुपैयाँ) नाफा कमाएको छ । यो विश्वका कुनै पनि कम्पनीले ६ महिनामा कमाएको सबैभन्दा धेरै नाफा हो ।
विश्वभर तेल र ग्यासको मूल्य बढेपछि कम्पनीले नाफामा उछाल आएको हो । साथै, कम्पनीले उत्पादन बढाउँ पनि नाफामा बढोत्तरी आएको हो ।
यो कम्पनी ३ वर्ष अघिदेखि पब्लिकमा लिस्टिङ भएको थियो। उक्त समयपछि कम्पनीले लगातार नाफा र व्ययापार समेत बढाउँदै लगेको छ ।
साउदी अरब ओपेक (पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन) मा सबैभन्दा ठूलो उत्पादक हो। यसले पछिल्लो समय विश्व बजारमा तेलको उत्पादन बढाएर इन्धनको मूल्य घटाउन मद्दत गरेको थियो।
सन् २०२१ मा अरामकोले लगभग दुई वर्षमा पहिलोपटक एप्पललाई उछिन्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा स्थापित हुन सफल भएको थियो।