काठमाडौं । उपभोक्ताको विश्वास जित्न सफल उदयपुर सिमेन्ट उद्योगले गत आवमा २१ लाख ७२ हजार ४१९ बोरा सिमेन्ट विक्री गरी कूल विक्री लक्ष्यको ९०.५२ प्रतिशत उपलब्धि हासिल गरेको छ ।
उद्योगले आर्थिक वर्ष २०७८/७९ मा २४ लाख बोरा सिमेन्ट विक्री गर्ने लक्ष्य लिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा करिब ४ लाख बोरा बढी सिमेन्ट उत्पादन गरी विक्री गरिएको उद्योगले जनाएको छ । तीन दशक पुराना मिल तथा मेशिनको मर्मतसम्भार गरी उद्योगले उक्त उपलब्धि हासिल गरेको हो ।
लहानस्थित नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मरमा आएको गडबडीका कारण विक्री लक्ष्य भेट्टाउन नसकिएको उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले जानकारी दिए । उद्योगले गत असारमा तीन लाख बोरा सिमेन्ट विक्री गर्ने लक्ष्य राखेको थियो । असारमा करिब १० दिन मात्रै उद्योग सञ्चालनमा आएको थियो । १० दिनमा उद्योगले ८७ हजार १३३ बोरा सिमेन्ट उत्पादन गरेको थियो ।
गत आव २०७८/७९ मा मूल्य अभिवृद्धि करबापत रु १८ करोड ८२ लाख ६२ हजार २२७, अन्तःशुल्क बापत रु २ करोड ३८ लाख ९६ हजार छ सय नौ, अग्रिम करबापत रु १ करोड ६० लाख २९ हजार नौ सय ७९, रोयल्टी बापत रु ८३ लाख ५२ हजार ५८०, प्रदूषण शुल्क रु ५४ लाख ३२ हजार सङ्कलन गरी भुक्तानीका क्रममा रहेको उद्योगले जनाएको छ ।
उद्योगले अघिल्लो आवको तुलनामा गत आवमा दैनिक उत्पादन क्षमतामा भारी वृद्धि गरेको छ । अघिल्लो आवमा औसत दैनिक चार हजार आठ सय ४४ बोरा सिमेन्ट उत्पादन भएकामा गत आवमा सात हजार दुई सय ४२ बोरा सिमेन्ट उत्पादन गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए ।
थप लगानी गरेर दैनिक २२ हजार बोरा सिमेन्ट उत्पादन गर्न सकिने उद्योगको क्षमता रहेको महाप्रबन्धक गोपी न्यौपानेले बताए । ‘करिब रु ५६ करोड थप लगानी गर्न सके प्रतिदिन १ हजार १०० मेट्रिक टन अर्थात् दैनिक २२ हजार बोरासम्म उत्पादन हुन सक्नेगरी ‘अपग्रेडेशन’ गर्न सकिने अध्ययनबाट देखिएका छन्,’ उनले भने।
आव २०७७/७८ सम्म उद्योगको उत्पादन ३० प्रतिशतमा सीमित थियो । आव २०७८र०७९ मा भने उद्योगको उत्पादन वृद्धि भएको छ । सो वर्ष उद्योगले कूल क्षमताको ३९.१९ प्रतिशत सिमेन्ट उत्पादन गर्न सफल भएको छ ।
उद्योगलाई नाफामा लैजान कम्तीमा ५० प्रतिशतभन्दा बढी उत्पादन हुनुपर्ने प्रवक्ता पोखरेलले बताए । उद्योगको वित्तीय विवरणमा पनि सुधारको सङ्केत देखिएको छ । गत आवसम्म रु ५ अर्ब ५० करोड घाटा पूर्ति भई रु ५६ करोड सञ्चित नाफा कायम भएको उद्योगले जनाएको छ ।
पछिल्ला वर्षदेखि उद्योगले उत्पादन वृद्धिका साथै वित्तीय अवस्थालाई सुधार गर्दै लगेको छ । कोइलालगायत कच्चापदार्थको सिमेन्ट दिएर भुक्तानी गर्ने प्रथाको अन्त्य गरिएको महाप्रबन्धक न्यौपानेले बताए । महाप्रबन्धक न्यौपानेको अग्रसरतामा उद्योगको साधारणसभाले सिमेन्ट उत्पादनका लागि अर्को नयाँ प्लान्ट निर्माण गर्ने कानूनी बाटो खोलिदिएको छ ।
यसका साथै उद्योगले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । उद्योगले प्रतिबोरा २ रुपैयाँ ५० पैसा प्रदूषण शुल्क त्रियुगा नगरपालिकामा दाखिला गर्दै आएको छ । उद्योगको उत्पादन वृद्धि गरी मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले आगामी आवको बजेट तय गरिएको महाप्रबन्धक न्यौपानेले बताए ।
‘उद्योगको पूर्ण क्षमता उपयोग गरी उत्पादन बढाउने र आयआर्जन गर्ने, ठूलो परिमाणमा रहेको खानीको उपयोग गर्न नीति निर्माण गर्ने, सङ्घीय सरकारको औद्योगिक प्रवद्र्धन नीतिमा सहयोग पुर्याउँदै रोजगारी प्रवद्र्धन गर्ने, सिमेन्टमा आत्मनिर्भर बनाउन योगदान गर्ने, क्लिङ्कर तथा सिमेन्ट निकासी गर्न प्रयत्न गरी राजश्वमा योगदान गर्ने लक्ष्यका साथ बजेट निर्माण गरिएको छ,’ उनले भने ।