काठमाडौं । देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना झन्डै २ अर्ब नोक्सानीमा रहेको छ ।
कम्पनीले मंगलबार सार्वजनिक गरेको गत वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नोक्सानी १ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षमा कम्पनीको नोक्सानी ५ करोड ४० लाख रुपैयाँ मात्र थियो ।
कम्पनीको वित्तीय लागत बढ्दा नोक्सानीमा गएको हो । समीक्षा अवधिमा कम्पनीको वित्तीय लागत बढेर ५ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।
२०७८ भदौ २५ गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको राष्ट्रिय गौरवको सो आयोजनाले १ वर्षमा बिजुली बेचेर ७ अर्ब १७ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ ।
बिल पेश भएको मध्ये नेपाल विद्युत प्राधिकरणले ५ अर्ब ९२ करोड रुपैयाँ मात्र भुक्तानी गरेको कम्पनीले जनाएको छ ।हाल १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ २ अर्ब ७१ करोड रुपैयाँ ऋणात्मक छ ।
गत आर्थिक वर्ष साउन र भदौको खर्चहरु सम्पत्तिमा पूँजीकरण गरी बाँकी १० महिनाको ब्याज खर्च, ह्रासकट्टी र अन्य सञ्चालन खर्चलाई हिसाबमा लेखांकन गरिएको कम्पनीले जनाएको छ ।
समीक्षा अवधिमा कम्पनी ५ अर्ब ६२ करोड ८७ लाख रुपैयाँ ऋण तिरेको वित्तीय विवरणमा उल्लेख छ ।
झन्डै २ अर्ब घाटामा गएपछि कम्पनीको प्रतिसेयर आम्दानी १७.६९ रुपैयाँ ऋणात्मक भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ ७४.३३ रुपैयाँमा झरेको छ ।