काठमाडौं । नेपालमा वार्षिक डेढ खर्ब बढीको फलाम तथा स्टिलका पाताहरू आयात हुने गरेको छ । वर्षेनी खबौँ रुपैयाँका फलाम तथा स्टिलका पाताहरू नेपाली बजारमा भित्रिने गर्छन ।
आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ९२ करोड केजी फलामका पाता तथा कच्चा पदार्थ आयात भएका थिए । सो आयातका क्रममा सरकारले ३० अर्ब ७६ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।
नेपाल फलामका डण्डी तथा डण्डीजन्य वस्तुमा आत्मनिर्भर रहेको छ । कच्चा पदार्थ विदेशबाट आयत गरिने भए पनि तयारी वस्तु स्वदेशमै उत्पादन गरेको छ । सरकारले गत वर्षको बजेटमार्फत स्पञ्ज आइरनमा भन्सार छुट दिएसँगै फलामजन्य उद्योगहरु थपिने क्रम पनि बढ्दो छ ।
यसैक्रममा, जीआइ पाइप उत्पादन गर्ने दुई नयाँ उद्योग खुल्ने भएका छन् । २ अर्ब लगानीम ती उद्योग खुल्न लागेका हुन् ।फलामका पाता तथा कच्चा पदार्थ र एचआर सिट (स्टिलका पाता) नेपाल आयात हुने गर्छन । त्यसलाई जीआइ पाइपका रूपमा गोलो आकार दिएर बनाइने गर्छ ।
कैलालीको जानकी गाउपालिकामा मालिका स्टील्स प्रालिले ४१ करोड १० लाख रुपैयाँ लगानीमा उद्योग खोल्दैछ । उक्त कम्पनीले वार्षिक एमएस रिबेड बार ३० हजार टन र जीआइ वायर ८ हजार टन उत्पादन गर्ने लक्ष्य राखेको छ । उक्त कम्पनीले सञ्चालनपछि २८५ जनालाई रोजगार दिनेछ ।
यस्तै पर्साको बिन्दवासिनी गाउँपालिकामा हुलास इन्फ्रा प्रालिले १ अर्ब ५७ करोड ४० लाख रुपैयाँ लगानीमा स्टिल उद्योग सञ्चालनमा ल्याउदैछ । यस उद्योगले वर्षेनी ८ हजार १०० टन एमएस स्ट्रक्चर, ५ हजार ५०० जीआइ स्ट्रक्चर पाइप, १० हजार टन ग्याल्भिङ, ९ हजार ९०० ग्यालभिङ पाइप, ५० हजार १०० टन ग्यालभिङ एचआर ३ हजार टन जीआइ पोल, ६ हजार हाइवे साइड गार्ड र २ हजार टन सिजेट पुरिन उत्पादन गर्ने लक्ष्य राखेको छ । यस उद्योगले १२३ जनालाई रोजगार दिने अनुमान गरिएको छ ।
जीआइ पाइपमा आत्मनिर्भर छौं
नेपाल डण्डीमा जस्तै जीआइ पाइपमा पनि आत्मनिर्भर रहेको छ । हुलास स्टिलका प्राविधिक अशोक शाह नेपाल जीआइ पाइपमा पनि आत्मनिर्भर रहेको बताउँछन् ।
‘जीआइ पाइप उत्पादनमा हामी आत्मनिर्भर छाैं , विदेशबाट मगाउनु पर्दैन, तर, त्यसका लागि चाहिने एचआर सिट्स भने भारतबाट आउँछ,’ शाहले चाणक्य पोष्टसँग भने ।
हाल २० वटाका हाराहारीमा जीआइ पाइप उत्पादन गर्ने उद्योग रहेको उनी बताउँछन् । उनले हरेक दिने एउटा उद्योगले ४० देखि ६० टनसम्मको जीआइ पाइप उत्पादन गर्ने गरेको बताए । उनले यसरी वर्षेनी ५ हजार टनसम्म जीआइ पाइप उत्पादन हुने गरेको बताए ।
उनका अनुसार हालसम्म नेपालमा एचआर सिट बनाउने कुनै पनि उद्योग छैन । उनले जीआइ पाइपहरू ४ देखि ८ इन्चसम्मको मोटाइको बन्ने गरेको बताए । हाल प्लाष्टिकका पाइपहरू विकास बढेसँगै जीआइ पाइपको माग केही घट्न पुगेको उनले बताए ।