काठमाडौं । तीव्र गतिमा अर्थतन्त्र विस्तार भइरहेको देशमध्ये पर्ने बंगलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि एको छ। उसले तेलको बढ्दो मूल्यको कारण युक्रेनमा जारी युद्ध भएको बताएको छ। दक्षिण एशियाको योप अर्को देशमा आर्थिक सङ्कट देखा पर्न सक्ने देखिएको बेला हजारौँ मानिसहरू सडकमा प्रदर्शन गरिरहेका छन्।
तरकारी बोक्ने आफ्नो ट्रकका लागि पेट्रोल भर्न लाम लागेका मोहम्मद नुरुल इस्लाम आफूले सडकमा माग्नुपर्ने हो कि भनेर डर लागेको बताउँछन्। बंगलादेशमा अनपेक्षित रूपमा वृद्धि भएको इन्धनको मूल्यका कारण ८६ टाका (नेपाली रुपैयाँ ११५.२९) प्रतिलिटरमा पाइने पेट्रोल १३० टाका (नेपाली रुपैयाँ १७४.२७) पुगेको छ। पेट्रोलको मूल्य एकैपटक प्रतिलिटर ५१ प्रतिशत बढाइए को हो।
डिजेल र मट्टितेलको मूल्य ४२.५ प्रतिशतले बढेको छ। निरन्तर उकालो लागेको इन्धनको मूल्यले नौ वर्षदेखि एउटा परिवहन कम्पनीमा काम गरिरहेका मोहम्मदलाई दैनिक जीविकोपार्जन गर्न कठिन बनाइदिइएको छ।
‘रोजगारी गुम्यो भने मैले सडकमा माग्न थाल्नुपर्ने हुन्छ‘
उत्तरी सहर दिनाजपुरमा बस्ने ३५ वर्षीय मोहम्मद आफ्नो गृहनगरबाट ताजा तरकारी राजधानी ढाकासम्म लैजान्छन्। उनका दुईवटा साना नानीहरू छन् र उनले आफ्ना आमाबुवाको पनि हेरचाह गर्नुपर्छ। तर तेलको मूल्य बढेसँगै उनका साहुहरूले उनलाई तलम पूरा दिन सकिरहेका छैनन्।
उनले भने, ‘बजार गएको बेला म आफ्नो परिवारलाई चाहिने पर्याप्त खानेकुरा किन्न सक्दिनँ। यदि इन्धनको मूल्य यसरी नै बढिरह्यो भने म आमाबुवालाई पाल्न र बच्चाहरूलाई विद्यालय पठाउन सक्दिनँ। मेरो रोजगारी गुम्यो भने मैले सडकमा माग्न थाल्नुपर्ने हुन्छ।’ झन्डै १६ करोड ८० लाख जनसङ्ख्या रहेको बंगलादेशमा अरू धेरै मानिसहरूले यस्तै समस्या भोगिरहेका छन्।
के भन्छ बंगलादेश सरकार
अरू धेरै देशजस्तै रुसले युक्रेनमा अतिक्रमण गरेयता विश्वव्यापी रूपमा बढिरहेको इन्धनको मूल्यबाट बंगलादेश पनि प्रभावित भयो।
‘हामीलाई थाहा छ मूल्यवृद्धि ठूलो हो तर विदेशमा नै इन्धनको मूल्य बढेपछि हामी के गर्न सक्छौँ?’ बंगलादेशका ऊर्जामन्त्री नसरुल हमिदले बंगलासँग भने।
बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्य ५० प्रतिशतले बढेको छ । सरकारले आर्थिक अव्यवस्था निम्त्याएको भन्ने आरोप अस्वीकार गर्दै उनले भने विगतमा मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले अनुदान दिएको तर अहिले मूल्य बढाउनुको विकल्प नभएको बताए। ‘यदि निश्चित बिन्दुमा विश्वव्यापी मूल्य कम भयो भने हामी केही सम्बोधन गर्ने प्रयास गर्नेछौँ।’
बढ्दो आक्रोश
गत हप्ता मूल्यवृद्धिको घोषणा गरिएपछि हजारौँ मानिसहरूले पेट्रोल पम्पबाहिर देशभरि प्रदर्शन गरेका थिए। श्रीलङ्काको झल्को दिएको उक्त प्रदर्शनका क्रममा मूल्यवृद्धि फिर्ता लिन माग गरिएको थियो।
बंगलादेशमा छिटपुट प्रदर्शनहरू भइरहेका छन् तर आक्रोश र आवेगको भावना बढिरहेको छ।नसरुल हमिद आफ्नो देशले श्रीलङ्काको जस्तो अवस्था भोग्नु नपर्ने विश्वास गर्छन्। तर बंगलादेशमा विदेशी मुद्राको सञ्चिति कम भइरहेको छ।
विश्वकै द्रुत गतिमा अर्थतन्त्र वृद्धि भइरहको भन्दै प्रशंसा पाएको बंगलादेश गएको जुलाईमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिने श्रीलङ्का र पाकिस्तानपछि तेस्रो दक्षिण एशियाली देश बनेको थियो।
शेउली हाज्दा खाद्यपदार्थ किन्न आफूलाई निकै गाह्रो भएको बताउँछिन् । तर बिरामी सन्तानलाई उपचार गराउन यातायत खर्चको जोहो पनि गर्न नसक्ने मोसाम्मद जाकिया सुल्तानाका लागि कुनै पनि सहयोग ढिला भइरहेको छ।
इन्धनको चर्को मूल्यवृद्धिका कारण सार्वजनिक यातायातको शुल्क पनि बढेको छ। त्यसैले उनी अत्यावश्यक यात्रा मात्रै गर्दै आएकी छन्।उनले आफ्नी किशोरी छोरीलाई अस्पतालमा लैजाने क्रममा बसमा यात्रा गरिरहेका बेला कुराकानी गरेकी थिइन्।
उनका अनुसार हालै खानेकुरामा भएको मूल्यवृद्धिले उनलाई नराम्रोसँग प्रभावित पारेको छ।’बस भाडा मात्रै बढेको छैन, बजारमा सबै कुराको मूल्यवृद्धि भएको छ जसका कारण मलाई परिवारको खर्च धान्न धौधौ भइरहेको छ।’
पेट पाल्नै कठिन
दिनाजपुरका विकट भेगहरूमा पनि यस्तै पीडा सुनिन्छन्। शेउली हाज्दा धान उत्पादन हुने फूलबारी जिल्लामा रहेका खेतहरूमा काम गर्छिन्।उनले आफैँले खेतमा लगाएका अन्न आफूले किन्न नसक्ने बताइन्।’अकस्मात् इन्धनको मूल्यमा वृद्धि भएसँगै खेती गर्नुको लागत एकदमै महँगो भएको छ।’
‘हाम्रो तलबले हाम्रो गुजारा पनि चल्दैन। सबै कुरा एकदमै महँगो भएको छ। हामी हाम्रा बच्चाहरूलाई खुवाउन पुग्ने पर्याप्त खाद्यान्न पनि किन्न सक्दैनौँ।’बंगलादेशमा जीवनयापनको खर्च बढिरहँदा शेउलीजस्ता मानिसहरू आफ्नो आम्दानीको कुनै मूल्य नरहेको बताउँछन्।
उनले भनिन्, ‘यदि सरकारले तुरुन्तै इन्धनको मूल्य घटाएन भने हामी भोकै मर्नेछौँ।’ -बीबीसी