वाणिज्य बैंककाे वितरणयाेग्य नाफा १६ प्रतिशत,कुनले कति दिन सक्छन् ?

काठमाडौं । गत आर्थिक वर्ष वाणिज्य बैंककाे नाफामा सुधार आएसंगै वितरयाेग्य नाफा पनि बढेकाे छ ।

बैंकिङ प्रणालीमा देखिएकाे तरलता अभावका बाबजुत उल्लेख्य खुद नाफा आर्जन गर्न सफल बैंकहरूकाे वित्तीय स्थिति पनि सन्ताषजनक नै छ ।

गत वर्ष २६ वटा वाणिज्य बैंकहरूले औसतमा २३ प्रतिशत खुद नाफा बढाएका छन् भने वितरणयाेग्य नाफा १६ .१५ प्रतिशत रहेकाे छ ।

बैंकहरूले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको समग्र नाफा ५६ अर्ब ७८ करोड ६६ लाख ४८ हजार रुपैयाँ रहेको छ । गत वर्ष तीन बैंक बाहेक सबैले नाफा बढाएका छन् ।

गत वर्ष सबैभन्दा धेरै नाफा कमाउनेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेकाे छ ।

निक्षेपको ब्याजदर वृद्धि, तरलता अभाव र आर्थिक गतिविधि सुस्ताएका बेला वाणिज्य बैंककाे नाफामा सुधार आएकाे छ ।

प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार औसतमा वाणिज्य बैंकहरूकाे १८.०९ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता रहेकाे देखिन्छ ।

वाणिज्य बैंककाे वितरणयाेग्य नाफा र शेयरधनी कोषमा रहेको रकमबाट गरेर साे लाभांश बाँड्न सक्ने भएका हुन् ।

कुन बैंककाे लाभांश बाँड्ने क्षमता कति ?

गत वर्ष एभरेष्ट बैंकको लाभांश वितरण गर्नसक्ने क्षमता सबैभन्दा धेरै रहेकाे छ। यस बैंकले कुल ४३.६७ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

दाेस्राेमा नबिल बैंककाे ३९.९४ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता रहेकाे छ ।

बैंकिङ क्षेत्रमा लिड गरिरहेकाे यस बैंककाे नाफामा गत वर्ष भने केही संकूचन आएकाे देखिन्छ । यद्यपि, नेपाल बंगलादेश बैंकलाई गाभेर यस बैंकले आफ्नाे वित्तीय स्थिति बलियाे बनाउँदै लगेकाे छ ।

बंगलादेश बैंककाे प्रिमियम बापत आएको रकमलाई समेत वितरण योग्य नाफामा देखाएको कारण उसको लाभांश वितरण क्षमता राम्रो रहेकाे छ ।

यसैगरी, गत वर्ष लाभांश वितरण गर्न नपाएको एनआइसी एशिया बैंकको ३३.२६ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेकाे देखिन्छ ।

अघिल्लो आवमा पुँजी काेष नपुगेकाे भन्दै यस बैंकलाई नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा राेक लगाएकाे थियाे ।

लाभांश वितरण क्षमता सबैभन्दा कमजाेर सेञ्चुरी बैंककाे रहेकाे छ । यस बैंकले गत वर्ष ९.५४ प्रतिशत लाभांश बाँड्न सक्ने रहेकाे छ ।
यसैगरी, लक्ष्मी बैंकले १०.८७ प्रतिशत लाभांश बाँड्न सकन्ने क्षमता राख्छ ।

वित्तीय विवरण अनुसार सिभिल बैंकले ११.०९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले ११.१३ प्रतिशत, सिटिजन्स बैंकले ११.२४ प्रतिशत र मेगा बैंकले ११.४४ प्रतिशत लाभांश बाँड्न सक्ने छन् ।

ग्लाेबल आईएमइ बैंककाे १३.४५,स्ट्यान्डर्ड चार्टर्ड ३०.८७,कृषि विकास २९.६३,नेपाल बैंक २४.७४,हिमालयन बैंक २०.६२,राष्ट्रिय वाणिज्य बैंक २०.३०,सिद्धार्थ १६.८२,एसबीआई बैंक १४.७४,सनराईज १४.४६,माछापुच्छ्रे १३.२५,एनसीसी १३.२३,एनएमबी १३.०३,सानिमा १२.९८,प्राईम १२.८१,कुमारी १२.६६,प्रभु १२.४३ र बीओके बैंकको १२.२५ प्रतिशत लाभांश वितरण क्षमता रहेकाे छ ।

मिटरब्याजी सम्बन्धी समस्या नियन्त्रण गर्न कार्यदल गठन Read Previous

मिटरब्याजी सम्बन्धी समस्या नियन्त्रण गर्न कार्यदल गठन

धौलागिरी लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

धौलागिरी लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन