काठमाडौं । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले सवारी चालक अनुमतिपत्रका लागि बायोमेट्रिक्सका लागि तोकिएको दिनको कोटा वृद्धि गर्दै ४ः३० बजेदेखि अनलाइन फाराम भर्नेसमेतको व्यवस्था मिलाइएको बताएका छन् । उनका अनुसार मन्त्रालयले सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।
सेवाग्राहीको चाप बढेपछि मन्त्रालयले गत असार २८ गते तोकिएको कोटामा १ हजार २१५ जना थप गरी शुक्रबारदेखि लागू हुनेगरी ३ हजार ६७५ पुर्याएको मन्त्री दाहालले जानकारी दिए । उनका अनुसार विचौलियाले थप कोटामा मनपरी गर्न नसकुन् भनेर शुक्रबार ४ः३० बजेको समय नै तोकेर कोटा थप्ने स्पष्ट व्यवस्था मिलाइएको छ ।
यसअघि पालो कुरेर बसेका वा अनलाइन फाराम भर्न नसकेका १८ हजार २२५ जनाले १५ दिनभित्रै पालो पाउने गरी भोलि नै आवेदन दिनसक्ने व्यवस्था मिलाइएको मन्त्री दाहालको भनाइ छ ।
मन्त्रालयका सचिव यमलाल भुसालले सबभन्दा बढी आवेदन जगातिस्थित कार्यालयबाट दिन सकिने र सबभन्दा कम आवेदन एकान्तकुनास्थित कार्यालयबाट दिन सकिने बताए। एकान्तकुनामा सवारी चालक अनुमतिपत्र नवीकरणको प्रक्रियामा आएका गुनासो फछ्र्योट गर्नुपर्ने, पुरानो अभिलेख रुजु गर्नेको सङ्ख्या अत्यधिक हुने भएकाले तत्कालका लागि न्यूनतम कोटा तोकिएको उनले जनाए ।
बागमती प्रदेश सरकारले यातायात सेवा कार्यालयको सुधारसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सचिव भुसालले बताए । यसअघि नै मन्त्रालय मातहतको कार्यालयबाट सम्पादन भइरहेको सवारी चालक अनुमतिसम्बन्धी वर्ग थप र नयाँ आवेदनका लागि सेवाग्राहीको अत्यधिक चापलाई व्यवस्थापन गर्न प्रदेश सरकारबाट अतिरिक्त समयमा कार्यालय सञ्चालनको सुुरुआत भइसकेको उनको भनाइ छ ।
सेवाग्राहीहरुले https://applydl.dotm.gov.np/ मा गएर तोकिएबमोजिमको विवरण प्रविष्ट गरी चाहेबमोजिमको मितिका लागि आवदेन दिनसक्ने र अत्यधिक चापका कारण वा दैनिक कोटा सकिएको भए अर्को मितिका लागि आवदेन दिनसक्ने बेहोरा सूचनामा खुलाइएको सचिव भुसालले बताए।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र श्रम, रोजगार तथा यातायातमन्त्री दाहालको निर्देशनका आधारमा सुधारकार्य अगाडि बढिरहेको र अनुगमन भइरहेको सचिव भुसालले जानकारी दिए ।
उनका अनुसार बागमती प्रदेश सरकारले २०८३ सालसम्मको पालो कुरेर बसेका सबै सेवाग्राहीले जेठको दोस्रो हप्ताभित्रै सेवा प्राप्त गरिसकेका छन् । बागमती प्रदेश मातहतको यातयातसम्बन्धी सबै सेवा प्रवाहको तथ्याङ्कलाई दैनिकरूपमा वेबसाइटमै राख्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।