काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सुधार आएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा १७.४५ प्रतिशतले बढेको छ ।
गत आवको असार मसान्तसम्म लघुवित्तले ७० करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १० करोड रुपैयाँ बढी हो । अघिल्लो आवमा लघुवित्तले ६० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेपछि खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०.६८ प्रतिशतले बढेर १ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा १६.३९ प्रतिशतले बढेर १ अर्ब पुगेको छ ।
असार मसान्तसम्म लघुवित्तले १६ अर्ब ३० करोड रुपैयाँ सापटी लिइ कुल २९ अर्ब ३१ करोड कर्जा प्रवाह गरेको छ ।
हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५६ करोड रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ६८ करोड, रिटेन्ड अर्निङमा ८९ करोड ८८ लाख र सेयर प्रिमियममा १ करोड ८२ लाख रुपैयाँ संचित रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा ४३ करोड ८८ लाख रुपैयाँ छ । जसबाट सेयरधनीलाई २८ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४५.२८, प्रतिसेयर नेटवर्थ २६६.०८ रुपैयाँ, खराब कर्जा ०.६८ प्रतिशत र मूल्य आम्दानी अनुपात २३.५२ गुणा रहेको छ ।