काठमाडौं । डिरेक्ट टू होम (डीटीएच) सेवा प्रदायक कम्पनी डिशहोमले व्यापार घट्न थालेपछि आफूलाई अपग्रेड गर्न थालेको छ । तीव्र गतिमा भइरहेको नयाँ प्रविधिको विकाससँगै पुराना प्रविधि विस्थापित हुने क्रम बढेसँगै डिशहोमले पनि आफूलाई रुपान्तरण गर्न थालेको हो ।
स्याटलाइट प्रविधिबाट ओटीटी (ओभर दी टप) प्रविधिमा ग्रहाकहरू सिफ्ट हुँदा पुराना कम्पनीको व्यवसायमा गिरावट आएको छ । सब्स्क्राइबर र आम्दानी घट्दा डिश मिडिया नेटवर्क लिमिटेड कम्पनीको व्यवसायमा गिरावट आएको छ ।
रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालको तथ्यांक अनुसार सन् २०२० को तुलनामा २०२१ मा कम्पनीको कारोबार ४.१४ प्रतिशतले घटेको छ । इन्टरनेट प्रदायक कम्पनीहरू बीचको तीव्र प्रतिस्पर्धाले सब्स्क्रिप्सन आम्दानी ३ प्रतिशत र सब्स्क्राइबर बेस १.०२ प्रतिशतले घटेको हो ।
यस कम्पनीको आम्दानी ३ प्रतिशतले घटेर ४ अर्ब ३२ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । २०२१ मा कम्पनीले ४ अर्ब ९२ करोड रुपैयाँ आम्दानी गरेको छ ।
कस्टमर प्रेमिसेस इक्विपमेन्ट (सीपीई) विक्री ३० प्रतिशतले घटेर ४३ करोड १० लाख रुपैयाँ पुगेको छ । सन् २०२० मा ५ अर्ब १३ करोड ३० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले २०१९ मा ४ अर्ब २५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले गत वर्ष इन्टरनेट विक्रीबाट कम्पनीले ८ करोड रुपैयाँ आम्दानी गरेको छ ।
पछिल्लो समय नेटफिलिक्स, नेट टीभी जस्ता ओटीटी प्ल्यार्ट फर्मको विकासले स्याटलाईट प्रविधि इन्टरनेट फाइबर पुगेको ठाउँमा विस्थापित हुने अवस्थामा छ । डिशहोमले पनि सोही अनुसार आफूलाई ओटीटी लगायत विभिन्न प्रविधिमा रुपान्तरण गरिरहेको छ ।
डिशहोम कम्पनीका म्यानेजिङ डाइरेक्टर सुदीप आचार्य विभिन्न नयाँ प्रविधिको प्रयोग गरेर व्यवसाय थप विस्तार गरिरहेको बताउँछन् । ‘अहिलेको हाम्रो मुख्य काम भनेको च्यानल डिष्ट्रिब्यूसन हो, त्यो गरिरहेका छौं । आइटीभी सुरु गरेका छौं । ओटीटी प्लेर्ट फर्ममा पनि इन्भेष्ट गरिरहेका छौं,’ उनले भने ।
यसरी गर्दै छ व्यवसाय विस्तार
सन् २०१० मा दुईवटा डीटीएच सेवा प्रदायक सेटलाइट च्यानल प्रालि र डिस मिडिया नेटवर्क प्रालिबीचको मर्जरबाट डिरेक्ट टू होम (डीटीएच) सेवा प्रदायक डिशहोम मिडिया नेटवर्क लिमिटेड कम्पनी बनेको हो ।
रेटिङ कम्पनीका अनुसार डिशहोमको २०२२ सम्म सक्रिय कस्टमर बेस ९ लाख ७० हजार रहेका छन् । सन् २०१७ जुलाई २ मा पब्लिक लिमिटेडमा परिणत भएको कम्पनीले बजारमा निकै प्रभाव जमाउन सफल भएको थियो ।
कम्पनीले अहिले २०७ वटा च्यानल उपलब्ध गराइरहेको छ । जसमध्ये ६१ वटा एचडी र १४६ वटा एसडी च्यानल रहेका छन् । यस कम्पनीले अहिले अरु अपरेटरहरूमा उपलब्ध नभएका २१ वटा आफ्नै च्यानल प्रशारण गरिरहेको छ ।
कम्पनीले १०० वटा प्रिमियम लिनियर च्यानलसहितको ओटीटी एप ‘डिशहोम गो’ संचालन गरिरहेको छ । कम्पनीका देशभर ८५ वटा डिलर, ३५ सय सब डिलर र १३ सय भन्दा बढी सेवा फ्रेन्चाइज रहेका छन् ।
कम्पनीका जेनरल म्यानेजर रमेश सापकोटा नयाँ घर तथा गाउँहरूमा डिशहोमको व्यवसाय बढाउने बताउँछन् । ‘सष्क्राइबरहरू बढाएर, गुणस्तरमा सुधार गरेर तथा अहिलेका ग्रहाकहरूलाई कायम राख्दै नयाँ बनिरहेका घरदेखि गाउँहरूमा हाम्रो सेवा तीव्र अगाडी बढाउँछौं नै,’ उनले भने, ‘यसमा आर्थिक पाटोबाट ठूलो भार नपरे पनि डलरको मूल्य वृद्धिले केही कष्टिङ बढिरहेको छ ।’
अहिले तीव्र प्रतिस्प्रर्धाका कारण मूल्य बढाउने स्थिति नहुँदा आम्दानीमा केही गिरावट आउने उनले बताए । ‘इन्टरनेटको एक्सटेन्सन पाटो अलि गाह्रो भइरहेको छ । सिष्टमहरूमा सुधार गरेर सेवालाई सजिलो र प्रभावकारी बनाउनमा लागिरहेका छौ,’ उनले भने, ‘अपेक्षित सर्भिस मेकानिजम, कष्टोमर सर्पोट, सीआरएममा विकास गरेर ग्रहाकलाई बढीभन्दा बढी सेवा दिएर आकर्षित गरिरहेका छौं ।’
अहिलेको आर्थिक पाटोले विकासको क्षेत्रमा केही अप्ठ्यारो पारेपनि पुरानो कम्पनी भएकाले ओटीटी, डिशहोम आइटीटी लगायतमा ग्रहाकको राम्रै प्रतिक्रिया आएको कारण व्यवसाय अझै विस्तार हुने उनले बताए ।
‘अप्ठयारो परिस्थितिमा पनि हामीले व्यवसाय विस्तार र विकासको क्रम केही सुस्त भएपनि रोकेका छैनौं । आर्थिक रुपमा केही समस्या भएपनि नयाँ क्षेत्रहरूमा फाइबरको विस्तार गरिरहेका छौं,अझै विभिन्न क्षेत्रहरूमा व्यवसाय विस्तार कायमै रहने,’ उनले भने ।
हङकङको स्यान्डमार्टिन इन्टरनेसनल होल्डिङ लिमिटेडको ४७ प्रतिशत सेयर स्वामित्व रहेकोमा सन् २०२२ मा डिस मिडियाले प्रभु डिजिटल लिमिटेडलाई गाभेपछि नयाँ सेयर संरचना बनाउँदा हङकङको कम्पनीको सेयर ४१.८६ प्रतिशत कायम भएको छ ।
यस कम्पनीले ३ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि केयर रेटिङ्स नेपालबाट रेटिङ पुनःपुष्टि गरेको छ । १ अर्ब १२ करोड ९९ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ट्रिपल बी र दुई अर्ब ७५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए थ्री रेटिङ पुष्टि गरेको छ ।