काठमाडौं । वाणिज्य बैंकहरुबाट निक्षेप बाहिरिने क्रम जारी छ । साउनको तीन सातामै बैंकहरुबाट झन्डै १ खर्ब निक्षेप झिकिएको छ ।
नेपाल बैंकर्स संघका अनुसार साउनको तीन सातामा वाणिज्य बैंकहरुबाट ९६ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । असार मसान्तमा ४५ खर्ब ४१ अर्ब पुगेको वाणिज्य बैंकको निक्षेप साउन २० गते आइपुग्दा ९६ अर्बले घटेर ४४ खर्ब ४५ अर्बमा झरेको छ ।
साउन पहिलो साता ६४ अर्ब रुपैयाँले घटेको बैंकहरुको निक्षेप दोस्रो साता २८ अर्ब रुपैयाँले घटेको थियो भने तेस्रो साता ४ अर्ब रुपैयाँले घटेको छ।
नेपाल आयल निगमले आइओसीलाई तिर्न बैंकमा राखेको पैसा झिक्दा र निर्माण व्यवसायीहरुले राखेको रकम फिर्ता लैजाँदा बैंकबाट ठूलो मात्रमा निक्षेप बाहिरिएको बताइएकाे छ ।

निक्षेप घट्ने क्रम जारी रहे पनि बैंकहरुको कर्जा लगानी भने न्यून मात्रमा बढ्न थालेको छ । साउनको दोस्रो सातासम्म ११ अर्बले घटेको बैंकको कर्जा तेस्रो सातामा भने २ अर्बले बढेको संघको तथ्यांक छ ।
असार मसान्तसम्म बैंकहरुको कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेकोमा साउन २० आइपुग्दा ४१ खर्ब ६६ अर्ब रुपैयाँ छ।