काठमाडौं । उत्पादनमूलक कम्पनी युनिलिभर नेपालले खुद नाफामा छलाङ मारेको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार खुद नाफा ७४.१६ प्रतिशतले बढेको छ ।
गत असार मसान्तसम्म कम्पनीले १ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षकोभन्दा ६३ करोड रुपैयाँ बढी हो । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले ८६ करोड रुपैयाँ नाफा कमाएको थियो ।
उत्पादन विक्रीबाट हुने सञ्चालन आम्दानी र अन्य स्रोतबाट प्राप्त हुने आम्दानी बढेपछि कम्पनीको खुद नाफामा उल्लेख्य सुधार आएको हो । असार मसान्तसम्म यस कम्पनीको सञ्चालन आम्दानी २७.९२ प्रतिशतले बढेर ७ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ७३ रुपैयाँ थियो ।
यस्तै, कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि ५ करोड रुपैयाँबाट बढेर १२ करोड २९ लाख रुपैयाँ पुगेको छ । हाल ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ५३ करोड रुपैयाँ संचित छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक)७०१ रुपैयाँ बढेर १६२९ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ९२८ रुपैयाँ थियो । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ पनि २ हजार ८२२ रुपैयाँबाट बढेर ३ हजार ९४२ रुपैयाँ पुगेको छ ।