बैंकको बेसरेट नै दोहोरो अंकमा, कुन बैंकबाट ऋण लिँदा सस्तो ? (बेसरेटसहित)

काठमाडौं । गत आर्थिक वर्षदेखि उकालो लागेको बैंकको ब्याजदर यस वर्ष पनि घट्ने संकेत छैन् । बैंकिङ प्रणालीमा देखिएको तरलता अभावले निक्षेपको ब्याजदर बढाउँदा बैंकको लागत बढेर आधारदर (बेसरेट) पनि बढेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलनका लागि ब्याजदर वृद्धि गरे पनि अपेक्षा अनुसार निक्षेप संकलन नहुँदा हालसम्म तरलता अभावको समस्या कायमै छ ।

बैंक तथा वित्तीय संस्थाको आधारदर उक्त संस्थाको लागतले निर्धारण गर्छ । बैंकको लागत बढ्यो भने आधारदरमा पनि फरक आउँछ । जसको प्रत्यक्ष असर कर्जाको ब्याजदरमा पर्छ र ऋणिले महंगो ब्याज तिर्नुपर्ने बाध्यता रहन्छ ।

अहिले वाणिज्य बैंकको आधारदर नै दोहोरो अंकमा पुगेको छ । जसमा बैंक तथा वित्तीय संस्थाहरुले प्रिमियम थपेर कर्जा प्रवाह गर्छन् । कर्जाको प्रकृति हेरेर बैंक तथा वित्तीय संस्थाहरुलाई शून्यदेखि ६ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण दिइरहेको पाइन्छ ।

पछिल्लो समय यस्तो आधारदर बढ्नेक्रम बढ्दो छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको गत वर्षको वित्तीय विवरण अनुसार १ वर्षमा करिब ३ प्रतिशतले आधारदर बढेको छ ।

आव २०७७/७८ मा वाणिज्य बैंकको आधारदर औषतमा ६.८७ प्रतिशत रहेकोमा २०७८/७९ को अन्त्यसम्म ९.४६ प्रतिशत पुगेको हो । यस अवधिमा वाणिज्य बैंकको आधारदर औषतमा २.५८ प्रतिशतले बढेको देखिन्छ ।

औषतमा ९.४६ प्रतिशत बेसरेट रहेककोमा ६ प्रतिशत प्रिमियम जोड्यो भने कर्जाको ब्याजदर करिब १६ प्रतिशत पुग्छ । अहिले निक्षेपको ब्याजदर नै १२ प्रतिशत छ । जसको कारण बैंक तथा वित्तीय संस्थाहरुको आधारदरको उकालो ग्राफ लागेको छ ।

कुन बैंकबाट ऋण लिँदा सस्तो ?

जुन बैंकको आधारदर कम छ त्यो बैंक तथा वित्तीय संस्थाले सस्तोमा कर्जा प्रवाह गर्छ भने जसको धरै छ त्यस्तो संस्थाले ब्याजदर महंगो लिने गरेको पाइन्छ । यद्यप, ऋणको प्रकृति हेरेर आधारदरमा कति प्रिमियम थप्ने भन्ने कुराले पनि ब्याजदर सस्तो–महंगो तय गर्छ ।

सबैभन्दा धेरै कुमारी बैंकको बेसरेट १०.५७ प्रतिशत रहेको छ । अघिल्लो आवमा ७.९ प्रतिशत बेसरेट रहेकोमा गत एक वर्षमा २.६७ बढेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ ।

सबैभन्दा कम सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको बेसरेट ७.८६ प्रतिशत छ । यस बैंकबाट कर्जा लिँदा ग्रहाकहरुले सबैभन्दा कम ब्याजदरमा ऋण पाउने देखिन्छ भने बेसरेट उच्च भएका कुमारी,सिभिल, सेन्चुरी लगायतका बैंकबाट ऋण लिँदा महंगो ब्याज पर्ने देखिन्छ ।

यसैगरी, नेपाल बैंकको बेसरेट ७.९९ प्रतिशत रहेको छ । सिभिल बैंकको १०.४६, सेन्चुरी कमर्सियलको १०.२३ बेसरेट रहेको छ भने सिटिजन, मेगा,सनराईज बैंकको ब्याजदर १० प्रतिशत बढी रहेको छ ।

सबैभन्दा धेरै बेसरेट बढ्नेमा सानिमा बैंक पहिलो सथानमा छ । यस बैंकको बेसरेट १ वर्षमा ६.३४ प्रतिशतबाट ३.३७ ले बढेर ९.७१ प्रतिशत पुगेको हो ।

सनराईज,स्र्टन्डार्ड चार्टड, हिमालयन बैंकको बेसरेट ३ प्रतिशत बढीले बढेको छ । सबैभन्दा कम एनसीसी र कृषि विकास बैंकको बेसरेट १ प्रतिशत बढीले बढेको छ ।

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

उपत्यकामा 'नो हर्न' अभियान पुनः सुरू, बजाए ५०० रुपैयाँ जरिवाना Read Next

उपत्यकामा 'नो हर्न' अभियान पुनः सुरू, बजाए ५०० रुपैयाँ जरिवाना