खाने तेल उद्योगमा १७ अर्ब लगानी थपिँदै, ११ उद्योग सञ्चालनमा आउँदै

काठमाडौं । खानेतेल उद्योगमा झन्डै १७ अर्ब लगानी थपिने भएको छ । ६ वटा नयाँ उद्योगमा उक्त लगानी गर्न लागिएको हो ।

उद्योग विभागका अनुसार ती उद्योगको उत्पादन क्षमता वार्षिक १० लाख १३ हजार २१४ टन रहेको छ । नवलपरासी, पर्सा, बारा, रुपन्देही, चितवन र झापामा नयाँ तेल उद्योगहरु सञ्चालनमा आउन लागेको विभागले जनाएको छ ।

नेपालबाट धेरै निर्यात हुने वस्तुहरुको शीर्ष स्थानमा पाम, भटमास, सनफ्लावर लगायत तेल रहेका छ । तेल उद्योगमा लगानी गर्दा बजार र प्रतिफल समेत साम्रो पाइने देखेपछि व्यवसायीहरुले यस क्षेत्रमा लगानी गर्न लागेका हुन् ।

हाल देशभर झन्डै ३ दर्जन खाने तेल उद्योग संचालनमा रहेका छन् । पछिल्लो समय तेल उद्योगहरुले यहीँ उत्पादन गर्नेभन्दा पनि विदेशबाट कच्चा पदार्थ ल्याई प्रशोधन गरेर निर्यात गर्ने गरेका छन् ।

कहाँ-कहाँ खुल्दैछन् नयाँ तेल उद्योग

नवलपरासीको रामग्राम नगरपालिकामा दुई वटा खाने तेल उद्योग सञ्चालनमा आउँदै छन् । । १ अर्ब ७३ करोड रुपैयाँ लगानीमा सिद्धिलक्ष्मी फुड्स तेल उद्योग सञ्चालनमा आउन लागेको छ । उक्त उद्योगले वार्षिक १ लाख १० हजार मेट्रिकटन विभिन्न खाने तेल उतपादन गर्ने छ । जसमा ३० हजार टन पाम तेल, ३० हजार टन सोया तेल, ३० हजार टन सनफ्लावरको तेल रहेको छ । ७ हजार तोरीको तेल र १३ हजार तोरीको केक बनाउने तेल उत्पादन गर्ने जनाइएको छ ।

त्यसैगरी, रामग्राममै ७४ करोड ७० लाख रुपैयाँ लगानीमा सिद्धिविनायक आयल्स प्रालि सञ्चालनमा आउने भएको छ । उक्त उद्योगले वार्षिक ४८ हजार ७०५ मेट्रिकटन विभिन्न प्रकारका खाने तेल उत्पादन गर्नेछ ।

त्यस्तै, बाराको जानकी गाउँपालिकामा ९६ करोड ७० लाख रुपैयाँ लगानीम तेल उद्योग खुल्ने भएको छ । निकिता आयल एण्ड रिफाइनरी प्रालिले वार्षिक ५ हजार मेट्रिकटन घिउ, ५० हजार मेट्रिकटन सोया, सनफ्लावर लगायतका खाने तेल उत्पादन गर्नेछ । साथै २० हजार टन तोरीको तेल उत्पादन गर्ने कम्पनीले जनाएको छ । उक्त कम्पनीले ८९ जनालाई रोजगार दिनेछ ।

बाराकै जीतपुरसिमरा उपमहानगरपालिकामा ५० करोड लगानीमा शिवशक्ति आयल एण्ड फ्याट्स उद्योग संचालनमा आउने भएको छ । यस उद्योगले वार्षिक ६१ हजार ८०० मेट्रिकटन तेल उत्पादन गर्ने लक्ष्य राखेको छ । बारामै ७३ करोड ५० लाख रुपैयाँ लगानीमा आरएमसी फुड्स प्रालि खुल्ने भएको छ । उक्त उद्योगले वार्षिक १ लाख ८ हजार ८५४ मेट्रिकटन खाने तेल उत्पादन गर्ने छ ।

बारामा सौरभ फुड प्रोडक्ट्स प्रालिको तेल उद्योग खुल्ने भएको छ । ७२ करोड ७९ लाख रुपैयाँ लगानीमा उक्त उद्योग सञ्चालनमा आउन लागेको हो । उक्त उद्योगले वार्षिक १ लाख ४१ हजार ६५० मेट्रिकटन खाने तेल उत्पादन गर्नेछ । यस उद्योगले ९४ जनालाई रोजगार दिने अनुमान गरिएको छ।

यसैगरी, पर्साको वीरगंज महानगरपालिकामा७५ करोड लगानीमा शिवम भेज आयल प्रालि सञ्चालनमा आउने भएको छ । यस उद्योगले वार्षिक १ लाख ५ हजार ३५० मेट्रिकटन खाने तेल उत्पादन गर्ने लक्ष्य राखेको छ ।

झापाको बिर्तामोडमा १ अर्ब १७ करोड ५१ लाख रुपैयाँ लगानीमा सिद्धिबिनायक आयल एण्ड एग्रो इन्डष्ट्री खुल्ने भएको छ । उक्त उद्योगले वार्षिक २ लाख ७ हजार २०९ मेट्रिकटन खाने तेल उत्पादन गर्ने छ ।

यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिकामा ४३ करोड ६५ लाख रुपैयाँ लगानीमा रोयल एडीबल ओइल्स प्रालि सञ्चालनमा आउने भएको छ । ६६ जनालाई रोजगार प्रदान गर्ने लक्ष्य राखेको उक्त उद्योगले वार्षिक ६१ हजार २०० मेट्रिकटन खाने तेल उत्पादन गर्नेछ ।

यसैगरी, चितवनको भरतपुर महानगरपालिकामा १६ करोड ६० लाख रुपैयाँ लगानीमा ग्लोबल प्रोटिन एण्ड आयल उद्योग सञ्चालनमा आउने भएको छ । यस उद्योगले वार्षिक २८ हजार ९८६ मेट्रिकटन खाने तेल उत्पादन गर्नेछ ।

रुपन्देहीको सिद्धार्थनगर नगपालिकामा ३४ करोड रुपैयाँ लगानीमा दाउन्न ग्रेन आयल प्रोसेसिङ एण्ड ट्रेड कम्पनी प्रालि सञ्चालनमा आउने भएको छ । उक्त उद्योगले वार्षिक ६६ हजार ७६० मेट्रिकटन तेल उत्पादन गर्नेछ ।

 

सहकारीहरूका लागि कोप कार्ड सेवा सुरू Read Previous

सहकारीहरूका लागि कोप कार्ड सेवा सुरू

अर्थसचिव मधु मरासिनी : जिम्मेवारीबाट पन्छिएका 'लाचार' ब्यूरोक्रेट Read Next

अर्थसचिव मधु मरासिनी : जिम्मेवारीबाट पन्छिएका 'लाचार' ब्यूरोक्रेट