कच्चा तेलको मूल्य ६ महिना यताकै सस्तो, प्रतिब्यारेल कतिमा झर्‍यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूलयमा निरन्तर गिरावट आएको छ । कच्चा तेलको मूल्य लगातार ओरालो लागेसँगै ६ महिना यताकै सस्तो भएको छ ।

विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८८ डलरसम्म आइपुगेको छ । बिहीबार डब्लुयुटीआई क्रुड आयलको भाउ २.३ प्रतिशतले घटेर प्रतिब्यारेल ८८.५४ डलरसम्म आएको छ । जुन फेब्रुअरी यताकै सस्तो हो ।

त्यस्तै, डब्लूटीआई कच्चा तेलको भाउ प्रतिब्यारेल ९५.८७ डलर र ब्रेन्ट क्रुड आयलको भाउ ९४ डलरमा आएको छ ।

विश्वव्यापी आर्थिक मन्दी आउने हल्लाका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउमा लगातार गिरावट आइरहेको छ ।

यसैबीच, बुधबार तेल निर्यातक देशहरूको समूह ओपेक प्लस अर्को महिनादेखि तेल उत्पादनमा वृद्धि गर्न सहमत भएसँगै तेलको भाउमा थप गिरावट आएको हो ।

ओपेकअन्तर्गतका १३ सहित तेल निर्यात गर्ने २३ देशहरुले सेप्टेम्बरमा प्रतिदिन थप १ लाख ब्यारेल तेल उत्पादन गर्ने बताएका छन् ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेसँगै अमेरिका र युरोपेली देशहरुले रसियन तेलमा प्रतिबन्ध लगाएसँगै विश्व बजारमा तेलको भाउ प्रतिब्यारेल १३९ डलरसम्म पुगेकेा थियाे । तर, पछिल्लो समय युद्ध कायमै रहे पनि अन्य उत्पादक देशहरुले उत्पादन बढाउँदा मूल्यमा केही गिरावट आएको थियो ।

पछिल्लो एक महिना यता विभिन्न अध्ययनहरुले विश्वभर आर्थिक मन्दी आउने प्रक्षेपण गरेपछि तेलको खपतमा समेत केही गिरावट आएको छ । जसकारण कच्चा तेलको मूल्यमा गिरावट आउन थालेको छ ।

यदि विश्वव्यापी आर्थिक मन्दी आएमा यस वर्षको अन्त्यसम्म कच्चा तेलको भाउ प्रतिब्यारेल ६५ डलरसम्म आउने अमेरिकाको सिटी बैंकले चेतावनी दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेसँगै नेपाललाई पनि केही राहत मिल्ने देखिन्छ । नेपाल भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । विश्व बजारमा तेलको भाउ घटेपछि भारतमा पनि घट्ने हुँदा नेपालमा पनि केही सस्तोमा आउने छ ।

४३९ मेगावाटको वेतन कर्णालीको ईआइए पूरा, २२ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने Read Previous

४३९ मेगावाटको वेतन कर्णालीको ईआइए पूरा, २२ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने

एनएमबीका दुई म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ? Read Next

एनएमबीका दुई म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?