काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको अधिकांश सूचकमा सुधार आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा, ब्याज आम्दानी, संचालन मुनाफा, प्रतिसेयर आम्दानी, निक्षेप, कर्जा लगानी लगायत सूचकमा प्रगति भएको छ ।
बैंकले गत वर्षको असार मसान्तसम्म कुल ६४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.१० प्रतिशत बढी हो। अघिल्लो आवमा बैंकले ५० करोड ३७ रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफामा बढोत्तरी आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.४४ प्रतिशत बढेर १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा २८.३९ प्रतिशतले बढेर ९४ करोड रुपैयाँ पुगेको छ ।
हाल ३ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब १० करोड, रिटेन्ड अर्निङमा ४७ करोड रुपैयाँ र सेयर प्रिमियममा ५ लाख ५१हजार रुपैयाँ संचित छ ।
असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४७ करोड रुपैयाँ रहेको छ। यसबाट बैंकले साढे १२ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।
समीक्षा अवधिमा बैंकको निक्षेप २२.२० प्रतिशतले बढेर ४३ अर्ब २७ करोड र कर्जा लगानी १८.२६ प्रतिशत बढेर ३४ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।
खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी २.२९ रुपैयाँ बढेर १७.०७ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४३.०३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.२८ गुणा, खराब कर्जा ०.९६ प्रतिशत, बेस रेट ११.०६ प्रतिशत र सीडी अनुपात ८४.८३ प्रतिशत रहेको छ ।