काठमाडौं । प्रयोगमा नआएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याउने पर्यटन मन्त्रालयको योजना रहेको छ । मन्त्रालयले ३ महिना भित्र उक्त निर्णय कार्यान्वयनमा ल्याउने जनाएको हो ।
देशभर ५४ विमानस्थल रहेका छन् । जस मध्ये २ वटा अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् भने अन्य आन्तरिक विमानस्थल रहेका छन् । आन्तरिक विमानस्थल मध्ये ३३ वटा विमानस्थल मात्र सञ्चालन अवस्थामा रहेका छन् । १९ विमानस्थल बन्द अवस्थामा रहेका छन् ।
नागरिक उड्यन प्राधिकरणका अनुसार बाग्लुङको बेलौवा, दार्चुला, ढोरपाटन, डोल्पाको मसिनेचौर, जिरी, काङगेलडाँडा, लाङटाङ, मनाङको हुमडे, मेघौँली र महेन्द्रनगर विमानस्थल अहिले बन्द अवस्थामा रहेका छन् ।
यस्तै पालुङटार, रोल्पा, स्याङबोचे, टीकापुर, गुल्मी, इलामको सुकिलुम्बा, खिजी चण्डेश्वरी, कालिकोट र कमल बजार विमानस्थल सञ्चालनविहीन अवस्थामा गौचरण बनेर बसेका छन् ।
नागरिक उड््यन प्राधिकरणका प्रवक्ता जगननाथ निरौलाले अवस्था हरेर विमानस्थल क्षेत्रलाई अन्य उपयोगी स्थानको रूपमा परिणत गर्ने बताए । उनले निजी क्षेत्रसँग सहकार्य गरेर यसलाई प्रयोगमा ल्याउन सकिने बताए ।
उनले उक्त विमानस्थलहरूलाई पूर्ण विमानस्थलको रूपमा ल्याउन एयरलाइन्सहरूले उडान गर्न इच्छा व्यक्त गर्नुपर्ने बताए । ‘प्रयोगमा ल्याउने मात्र भनेर हुँदैन, निजी एयरलाइन्सहरूले उडानका लागि सहमती जनाउनु पर्छ, उडान गर्न यात्रु पनि चाहिन्छ,’ उनले चाणक्य पोष्टसँग भने ‘सडक पुगेकाले महंगो हवाई उडानभन्दा यात्रुको रोजाइमा सडक यात्रा परेको छ ।’
त्यस्तै नागरिक उड्डयन प्राधिकरणले भरतपुर, नेपालगन्ज, रामेछाप, महेन्द्रनगर, विराटनगरमा नयाँ आन्तरिक टर्मिनल भवन बनाइने योजना बनाएको छ ।
साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे र ट्याक्सी वे एप्रोन एरिया विस्तार गर्ने योजना रहेको छ । प्राधिकरणले त्रिभुवन विमानस्थल भिको प्यारालाल र ह्याङ्गर एरियाको डेभलपमेन्टमा समेत परिवर्तन ल्याउने योजना बनाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चालु वर्षमै सञ्चालनमा ल्याइने
प्राधिकरणले चालु आर्थिक वर्षमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने योजना बनाएको छ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम लगभग अन्तिम चरणमा रहेको छ ।
सरकारले चाइना एक्जिम बैंकसँग करिब २२ अर्ब रुपैयाँ ऋणमा सन् २०१७ को नोभेम्वर महिनादेखि सुरु भएको थियो । हालसम्म यसको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ ।
पोखरा विमानस्थलको निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आवतजावत गर्न सक्ने गरी बनाइएको हो । विमानस्थलको धावनमार्ग २५ सय मिटर लामो छ ।