काठमाडौं । वाणिज्य बैंकहरूले धमाधम गत आर्थिक वर्ष २०७८/७९को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । यसैक्रममा बिहीबारसम्म १९ वटा वाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् भने अब ७ वटाको मात्र बाँकी छ ।
वित्तीय विवरण सार्वजनिक गरेका १९ वाणिज्य बैंकहरूले गत वर्षमा कुल ५३ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो आव २०७७/७८ को तुलनामा ९ अर्ब ६७ करोड ३८ लाख रुपैयाँ अर्थात् २२ प्रतिशतले बढी हो । अघिल्लो आवमा यी बैंकहरूले ४३ अर्ब ९६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
चरम तरलता अभाव र लक्ष्य अनुसार कर्जा विस्तार गर्न नसके पनि बैंकहरूले गत वर्ष सन्तोजनक रुपमा नाफा बढाउन सफल भएका हुन् । समीक्षा अवधिमा बैंकहरूको खुद ब्याज आम्दानी, संचालन मुनाफा बढ्दा र निष्क्रिय कर्जा असुल्न सफल हुँदा नाफामा बढोत्तरी आएको हो ।
वित्तीय विवरण प्रकाशित गरेका १९ बैंकहरूमध्ये १६ वटा बैंकको नाफा बढेको छ भने ३ वटाको घटेको छ । गत वर्ष एउटा बैंकले औसतमा २ अर्ब ८२ करोड खुद नाफा कमाएका छन् ।
१९ बैंकमध्ये ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । यस बैंकले गत आवमा मात्र ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा ४ अर्ब १६ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको बैंकले १ वर्षमा २५ प्रतिशतले बढाएको हो ।
यस्तै, सबैभन्दा कम कम नाफा कमाउनेमा लक्ष्मी बैंक रहेको छ । लक्ष्मीले गत वर्ष १ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
३ बैंकको नाफामा गिरावट
हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरू मध्ये कृृषि विकास, हिमालयन र सानिमाको खुद नाफामा गिरावट आएको छ ।
सबैभन्दा धेरै कृषि विकास बैंकको ८३ करोड ७४ लाख अर्थात २६.१६ प्रतिशतले नाफा घटेको छ । यस बैंकले गत वर्ष २ अर्ब ३६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने अघिल्लो वर्ष ३ अर्ब २० करोड १५ लाख रुपैयाँ कमाएको थियो ।

दोस्रोमा हिमालयन बैंकको नाफा ५१ करोड ६४ लाख अर्थात १७.२२ प्रतिशतले घटेको छ । हिमालयनले गत वर्ष २ अर्ब ४८ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यस्तै, सानिमा बैंकको नाफामा सामान्य गिरावट आएको छ । यस बैंकको नाफा साढे २ करोड रुपैयाँले घटेको छ । समीक्षा अवधिमा २ अर्ब ३१ करोड नाफा कमाएको यस बैंकले गत वर्ष १.०७ प्रतिशतले घटेर २ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ ।
कुनले कति कमाए ?
ग्लोबल आइएमई बैंकपछि एनआइसी एसिया बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको छ । यस बैंकले गत वर्ष ३७.१८ प्रतिशत अर्थात १ अर्ब २२ करोड रुपैयाँले नाफा वृद्धि गरेको हो । समीक्षा अवधिमा एनआइसीले ३ अर्ब २९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले पनि ४ अर्ब बढी नाफा कमाउन सफल भएको छ । यसैगरी, एनएमबी बैंकले ३ अर्ब ७० करोड, प्राइम कमर्सियलले ३ अर्ब ६८ करोड, सिद्धार्थ बैंकले ३ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
गत वर्ष कुमारी बैंकले २ अर्ब ८३ करोड, प्रभु बैंकले २ अर्ब ६० करोड, सानिमाले २ अर्ब २९ करोड,स्ट्याण्डर्ड चार्टर्डले २ अर्ब २६ करोड, सनराइजले २ अर्ब १५ करोड, सिटिजन्स २ अर्ब २५ करोड, एभरेष्ट २ अर्ब ५४ करोड, माछापुच्छ्र्रे २ अर्ब १६ करोड र एनसीसी बैंकले २ अर्ब २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।