तमोर कोरिडोर ‘आसफाल्ट’ प्रविधिबाट कालोपत्र गरिने, पौने ६ अर्ब स्रोत सुनिश्चित

सांकेतिक तस्वीर

काठमाडौं । तमोर कोरिडोर सडक आयोजनाको मुलघाट–गणेशचोक खण्ड कालोपत्र हुने भएको छ । तमोर कोरिडोर सडक आयोजना मूलघाट कार्यालयले आज उक्त खण्डको ११० किलोमिटर सडक कालोपत्रका लागि बोलपत्र आह्वान गरेको हो ।

५ अर्ब ७६ करोडको लागतमा उक्त खण्ड आसफाल्ट प्रविधिबाट कालोपत्रका लागि बोलपत्र आह्वान गरिएको तमोर कोरिडोर सडक आयोजना मूलघाट कार्यालयका प्रमुख कुबेर नेपालीले जानकारी दिए । उनका अनुसार बोलपत्रको अवधि एक महिनाको रहेको छ ।

पूर्वी पहाडको बहुप्रतिक्षित आयोजना पर्यटकीय दृष्टिले आकर्षक र नमूना बनाउन लागिएको हो । यसका लागि आसफाल्ट प्रविधिको प्रयोग गर्न खोजिएको नेपालीले जानकारी दिए । ‘यो प्रविधिको प्रयोग बजारी क्षेत्र र तराईमा रहे पनि पहाडमा एकदमै कम हुन्थ्यो,’ उनले भने, ‘यो प्रविधिको प्रयोगका लागि छुट्टै मेसिनको प्रयोग हुन्छ ।’ पहाडी क्षेत्रका सडक कालोपत्रका लागि बीबीएसटी प्रविधि प्रयोग हुने गरेको थियो । तीन वर्षभित्र कालोपत्र सम्पन्न गर्ने योजनासहित कार्यालयले ठेक्का आह्वान गरिएको जनाएको छ ।

कार्यालयले पहिलो चरणमा तमोर कोरिडोरको मूलघाटदेखि सुभाङखोलासम्मको खण्ड तथा पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुभाङखोला–गणेशचोक (फेदापा) खण्ड कालोपत्र गर्न लागेको हो । ‘यो खण्ड ग्राभेल भइसकेकाले कालोपत्र गर्न लागिएको हो,’ आयोजनाका प्रमुख नेपालीले भने, ‘तमोर कोरिडोरको सुभाङखोला–लिम्बुनीपुल–ओलाङचुङगोला खण्ड सडक ग्राभेल भइरहेको छ । ग्राभेल सकिएपछि कालोपत्र सुरु हुन्छ ।’ सडक कालोपत्रको ठेक्का लागेपछि डिजाइन गर्ने योजनाबमोजिम सडकको डिजाइनको तयारी भइरहेको उनले जानकारी दिए।

कालोपत्र हुन लागेको ११० किलोमिटर खण्डमा सात स्थानमा मोटरेवल पुल निर्माण गर्नुपर्ने हुन्छ । सातवटै पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको नेपालीले जानकारी दिए । ओलाङचुङगोलादेखि चतरासम्मको तमोर कोरिडोर सडकको कुल लम्बाइ २३८ किलोमिटर छ । कालोपत्र आह्वान भएकोबाहेक बाँकी खण्डमा आठ वटा पुलसमेत निर्माण गर्नुपर्नेछ ।

विसं २०६५ मा निर्माण थालिएको यो सडक मुलुकलाई उत्तर–दक्षिण जोड्ने सबैभन्दा द्रुत मार्ग हो । अघिल्लो सरकारले कोरिडोरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) तयार गरी बहुवर्षीय ठेक्का सम्झौताका लागि राष्ट्रिय योजना आयोग पठाएको थियो । कालोपत्र हुने खण्डमा गत वर्ष नै ट्र्याक खोल्ने तथा ग्राभेल बिच्छ्याउने कार्य सकिएको थियो । सरकारले कोरिडोर निर्माणका लागि बजेट छुट्ट्याई स्रोत सुनिश्चितता गरेपछि कालोपत्र हुन लागेको हो ।

पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटालाई तमोर नदीको किनारैकिनार हुँदै अघि बढ्ने सडकले धनकुटाको मूलघाट हुँदै सुनसरीको धरान तथा चतरासम्म जोड्दछ । कोरिडोरको ग्राभेल भएको खण्ड कालोपत्र हुने भएपछि यस क्षेत्रका बासिन्दा खुसी भएका छन् । ट्र्याक खोलिएपछि दुई वर्षअघिबाट यस सवारीका साधन यस सडकमा नियमित सञ्चालनमा आइसकेका छन् ।

 

हिमालयन र बीओकेले चीनमा जिते मुद्दा, १० वर्षअघि डुबेको पौने २ अर्ब फिर्ता आउने Read Previous

हिमालयन र बीओकेले चीनमा जिते मुद्दा, १० वर्षअघि डुबेको पौने २ अर्ब फिर्ता आउने

श्वेत गंगा हाइड्रोपावरको आइपीओ बाँडफाँट, यी ३ ठाउँबाट हेर्नुहोस नतिजा Read Next

श्वेत गंगा हाइड्रोपावरको आइपीओ बाँडफाँट, यी ३ ठाउँबाट हेर्नुहोस नतिजा