पेट्रोलियम पदार्थमा सरकारको दोहोरो चरित्र, न कर घटाउने न मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजनमा सरकारको दोहोरो चरित्र देखिएको छ । महंगीको मारले उपभोक्ताको ढाडसेक्दा कर कटौती गर्ने घोषणा गरेको सरकारले कर नघटाइ नेपाल आयल निगमलाई शाेधभर्ना दिइरहेकाे छ ।

अन्तर्राष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा निगमले बढाउने र घट्दा नघटाउने गरेको छ । सरकारले इन्धनमा लगाएको कर राजस्व प्रभावित हुनेडरले घटाउन आनाकानी गरिरहेको छ ।

जसको कारण एकातिर नेपाल आयाल निगमको घाटा ५० अर्ब रुपैयाँ पुगेको छ भने अर्कोतर्फ वस्तुको ढुवानी लागत बढ्दा सर्वसाधारणले चर्को मूल्य वृद्धिको सामना गरिरहेका छन् ।

गत असार ११ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलन गरेर सरकारले प्रतिलिटर पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ कर कटौती गरेको बताए । तर, न पेट्रोलियम पदार्थ माथिको कर घटेको छ न आयाल निगमको घाटा नै कम भएको छ ।

त्यसअघि पनि अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषदले छिट्टै पूर्वाधार कर घटाउने बताइरहेका थिए । तर, कर घटाएर ठूलो रकम राजस्व गुम्ने देखेको सरकारले घोषणा गरेपनि घुमाउरो तरिकाले शाेधभर्ना गरिरहेको छ ।

सरकारले पेट्रोलियमको कर नघटाएर सोधभर्ना दिने घोषणा गरेको आयाल निगमका अधिकारी बताउँछन् । ‘सरकारले हालसम्म पेट्रोलियम पदार्थमाथि लगाएको कर घटाएको छैन् । शाेधभर्ना गरिरहेको छ,’ निगमका प्रवक्ता विनितमणी उपाध्यायले भने ।

निगमका एक अधिकारीका अनुसार आइओसीले मूल्य घटाएर नयाँ सूची पठाए पनि चुलिँदो घाटाका कारण निगमले मूल्य घटाउने सम्भावना भने न्यून छ ।

रुस र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय स्तरमा बढेको पेट्रोलियम पदार्थको मूल्य पछिल्लो समय घट्नेक्रम जारी छ । भारतीय आयाल निगमले नेपाल आयाल निगमलाई सोमबा।र पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ ।

उक्त मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर १२.४५ रुपैयाँ,डिजेल प्रतिलिटर १६.८० रुपैयाँ घटेर आएको छ । आइओसीको नयाँ मूल्य सूची अनुसार निगमले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ नाफा र डिजेलमा अझै १० रुपैयाँ घाटा कायमै रहने जनाएको छ ।

भारतीय आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको यो लगातार दोस्रो पटक हो । यसअघि पेट्रालमा प्रतिलिटर १५.७६ र डिजेलमा प्रतिलिटर १६.५६ रपैयाँ घटेर आएको थियो ।

भारतीय आयाल निगमले हरेक १५ दिनमा नेपाल आयाल निगमलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर सूची पठाउँ छ । तर, सरकारले कर नघटाउँदा टाँट पल्टीएको निगमले घाटा रहेको भन्दै आन्तरिक रुपमा भने मूल्य समायोजन गर्दैन् ।

करको भारी

सरकारले हाल प्रतिलिटर पेट्रोलमा ६३.३६ रुपैयाँ कर उठाइरहेको छ भने डिजेलमा ४७.०३ रुपैयाँ कर लिइरहेको छ । आयाल निगमका अनुसार पेट्रोलमा सरकारी भन्सार कर २५.२३, डिजेलमा १२.०३, सडक मर्मत शुल्क पेट्रोलमा ४, डिजेलमा २, पूर्वाधार कर दुवैमा १०/१० मूल्य अभिवृद्धिकर पेट्रोलमा २०.८२ रुपैयाँ डिजेलमा १९.७९ र मुल्य स्थिरीकरण कोष शुल्क पेट्रोलमा १.८१ रुपैयाँ र डिजेलमा १.७२ रुपैयाँ लिइरहेको छ ।

निगमले हाल भारतीय आयाल निगमबाट प्रतिलिटर ११७.४२ रुपैयाँमा पेट्रोल र १३७.३६ रुपैयाँमा डिजेल खरिद गरिरहेको जनाएको छ । त्यसमा ढुवानी भाडा विक्री खर्च, बीमा खर्च, पविधिक नोक्सानी र बिक्रेताको मुनाफा जोडेर काठमाडौंमा प्रतिलिटर पेट्रोल १९५.१९ रुपैयाँ र डिजेलको १९३.९२ रुपैयाँ कायम हुन्छ ।

हाल निगमले प्रतिलिटर पेट्रोलमा १४.१९ र डिजेलमा प्रतिलिटर २१.९२ रुपैयाँ घाटा खाएर १८१ र १७२ रुपैयाँमा बिक्री गरिरहेको जनाएको छ । यसैगरी, एलपी ग्याँसमा प्रतिसिलिन्डर ५८२.४२ रुपैयाँ घाटा खाएर १८०० रुपैयाँमा बेचिरहेको छ ।

हाल निगमले १५ दिनमा २ अर्ब १६ करोड र १५ दिनमा ४ अर्ब ३२ करोड रुपैयाँ घाटा बेहोरिरहेकोछ । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै बनाउने भन्दै पेट्रोलियम पदार्थमा कर थोपरेको पनि एक दशक भसकेको छ ।

न आयोजना अघि बढाइएको छ न करको नामबाट उठाइएको पैसा नै सही ठाउँमा लगानी गरेको छ । उपभोक्ताबाट पेट्रोलियम पदार्थमा १० रुपैयाँ पूर्वाधार कर लगाएर हाल सम्म संकलन गरिएको करिब ८० अर्ब बढी रुपैयाँ राज्यको ढुकुटीमा थन्कीएको छ ।

नागरिक उड्डयन प्राधिकरणको आम्दानी ६० करोड बढ्यो, बजेट भने आधा मात्र खर्च Read Previous

नागरिक उड्डयन प्राधिकरणको आम्दानी ६० करोड बढ्यो, बजेट भने आधा मात्र खर्च

खुद नाफा दोब्बरले बढाएको आरएमडीसी लघुवित्तको लाभांश क्षमता कति ? Read Next

खुद नाफा दोब्बरले बढाएको आरएमडीसी लघुवित्तको लाभांश क्षमता कति ?