काठमाडौं । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको छ । चाडवाड नजिकिएसँगै बढी खपत हुने समयमा आयातमा प्रतिबन्ध लागेपछि नेपालमा प्याजको भाउ ह्वात्तै बढेको छ ।
कालिमाटी तरकारी बजारका अनुसार प्याजको मूल्य एकै दिनमा २६ रुपैयाँ बढेको छ । आइतबार कालिमाटी बजारमा प्याजको थोक मूल्य प्रतिकेजी ८९ रुपैयाँ थियो भने सोमबार २९.२१ प्रतिशतले बढेर प्रतिकेजी १ सय ११५ रुपैयाँ पुगेको छ।
पछिल्लो एक महिनामा मात्र प्याजको भाउ ७६ रुपैयाँले बढेको छ । एक महिना अगाडि भदौ १३ गते प्याजको औसत थोक मूल्य प्रतिकेजी ५९ रुपैयाँ रहेको थियो ।
भारतमा प्याजको मूल्य बढ्दा त्यसको प्रत्यक्ष मारमा नेपाली उपभोक्ता परेका छन्। खुद्रा बजारमा उपभोक्ताले प्याज प्रतिकिलो १ सय १५० रुपैयाँसम्म हालेर किन्नु परेको छ।
रोपिएको प्याज वर्षाका कारण नष्ट भएपछि स्थानीय बजारमै प्याजको मूल्य बढ्न थालेपछि भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
नेपालमा खपत हुने परिमाणमध्ये झन्डै ९८ प्रतिशत भारतबाट आयात हुन्छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५र७६ मा ५ अर्ब ६२ करोड २५ लाख रुपैयाँको प्याज आयात भएको थियो।
