काठमाडौं । गत सातादेखि निरन्तर उकालो लागिरहेको सेयर बजार यस साताको पहिलो दिन पनि दोहोरो अंकले बढेको छ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक ५४.५८ अंकले बढेर २१९५.१० को बिन्दुमा पुगेको हो ।
यसदिन २२० कम्पनीको ६७ हजार ७४० पटकको कारोबारमा १ करोड १३ लाख ३९ हजार ४७६ कित्ता सेयर किनबेच भएको छ । नेप्सेका अनुसार आज ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
यसदिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये फाइनान्स बाहेक सबै समूहको परिसूचक बढेको छ । यस समूहको सेयर मूल्य १.६ प्रतिशतले घटेको छ भने सबैभन्दा धेरै इन्भेष्टमेन्ट ४.७६, निर्जीवन बीमा कम्पनीको सेयर मूल्य ४.५१, जीवन बीमा कम्पनीको ४.१६ प्रतिशतले सेयर मूल्य बढेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल दूरसंञ्चार कम्पनीको १५ करोड बढी, एसियन लाइफ इन्स्योरेन्सको ११ करोड १५ लाख हिमालय डिष्ट्रिलरीको १० करोड र नेशनल हाइड्रोपावर कम्पनीको ९ करोड बढीको कारोबार हुँदै शीर्ष पाँचमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल इन्स्योरेन्स,नेको इन्स्योरेन्स,आइएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यसैगरी, ५ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ । यसदिन गुडविल फाइनान्सका लगानीकर्ता सर्वाधिक गुमाउनेमा रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ३.९४ प्रतिशतले सेयर मूल्य गुमाएका छन् ।