अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नै दोहोरिने

काठमाडौं । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा दोहोरिने भएका छन् । गत असार २२ गते राजीनामा दिएका शर्मा २५ दिन पछि पुनः अर्थमन्त्रालयको नेतृत्व सम्हाल्ने भएका हुन् ।

चालु आर्थिक वर्षको बजेट निर्माणमा करका दर हेरफेर गर्दा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि उनले राजीनामा दिएका थिए । सोसँगै उनीमाथि लागेका आरोप बारे छानबिन गर्न संसदीय विशेष छानबिन समिति बनेको थियो ।

दुई साता लगाएर अध्ययन गरेकाे  समितिले उनले अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएको पुष्टि गर्न नसकेपछि शर्मा फेरि अर्थमन्त्री बन्ने भएका हुन् । समितिले शुक्रबार प्रतिनिधि सभाको बैठकमा शर्मा माथि लागेको आरोप पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएको थियो ।

छानबिन समितिबाट सफाइ पाएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेको बताइएको छ । उनलाई आजै शपथ ग्रहण गराउने तयारी समेत गरिएको छ ।

यद्यपि, शर्मालाई पठाउने नपठाउने बारे माओवादी केन्द्रको आज दिउँसो बस्ने बैठकले टुंगो लगाउने छ ।

 

हिमाल दोलखा हाइड्रोपावर नेप्सेको कारबाहीमा, सेयर कारोबार रोक्का Read Previous

हिमाल दोलखा हाइड्रोपावर नेप्सेको कारबाहीमा, सेयर कारोबार रोक्का

पेट्रोलियम ढुवानी रोक्ने व्यवसायीकाे चेतावनी Read Next

पेट्रोलियम ढुवानी रोक्ने व्यवसायीकाे चेतावनी