काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफामा सामान्य वृद्धि भएको छ । बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १४.८३ प्रतिशतले बढेको छ ।
गत आवको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ८ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५३ करोड बढी हो । अघिल्लो आवमा बैंकले ३ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफामा उच्च वृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.३७ प्रतिशत बढेर ५ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा ३१.४१ प्रतिशत बढेर ६ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।
हाल १८ अर्ब ३० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ६७ करोड र रिटेन्ड अर्निङमा १ अर्ब २८ करोड रुपैयाँ संचित छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३ करोड ८३ लाख रुपैयाँ रहेको छ। यसबाट बैंकले ११ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।
समीक्षा अवधिमा बैंकको निक्षेप ५.८६ प्रतिशत बढेर १ खर्ब ८४ अर्ब र कर्जा ०.४२ प्रतिशतले वृद्धि भई १ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ४३ पैसा बढेर २२.३२ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा प्रतिसेयर नेटवर्थ १८७.२१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.८७ गुणा, खराब कर्जा १.४७ प्रतिशत, बेसरेट ८.५९ प्रतिशत, स्प्रेडदर ४ प्रतिशत रहेको छ ।