उपत्यकावासीलाई सास्ती दिने ८ सडक : जो ८ वर्षमा पनि बनेनन्, यस्तो छ पछिल्लो अवस्था

काठमाडौं । काठमाडौं उपत्यकाका सडक फराकिलो बनाइ सवारी चाप कम गर्ने उद्देश्यले डेढ दशक अघि थालिएको आयोजना हो काठमाडौं उपत्यका सडक विस्तार ।

आर्थिक वर्ष २०६३/६४ देखि अघि बढाइएको यस आयोजना अन्तर्गतका सडकहरुकाे निर्माण कार्य भने २०७१/७२ देखि अघि बढाइएको थियाे । निर्माण सुरू भएकाे ८ वर्षा बिते पनि अझै काम सम्पन्न हुन नसकेको हो ।

सडक पूर्वाधारले नागरिकहरुको यात्रा सहज बनाउनुपर्ने भए पनि यस आयोजनाका सडकले भने सास्ती र हैरानी मात्र दिएको पाइन्छ ।तोकिएको समयमै निर्माण पूरा नहुँदा वर्षायाममा हिलाम्मे र हिउँदायाममा धुलाम्मे हुने गरेका छन् । जसले यात्रु र सवारीचालकलाई अनावश्यक सास्ती दिइरहेको छ ।

ठेकेदारको चरम लापारबाही, मुआब्जा विवाद, बजेट अभाव, कामदार अभाव, स्थानीयको अवरोध, अदालतमा मुद्दा दायर लगायत कारणले यस आयोजना अन्तर्गतका सडक निर्माणमा ढिलाइ भएको हो ।

उपत्यका सडक विस्तार अन्तर्गत ९ वटा सडक आयोजना निर्माण अघि बढेको थियो । ती मध्ये ३ वटाको काम सम्पन्न भएको छ भने आधा दर्जन सडकको काम अझै बाँकी नै छ ।

पटक पटक म्याद थपिए पनि यस आयोजना अन्तर्गत सडक निर्माण सम्पन्न हुन सकेको छैन । गत आर्थिक वर्ष २०७८/७९ मा यथास्थितिमै भए पनि सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि सम्पन्न हुन सकेन ।

अधिकांश सडकको काम अन्तिम चरणमा पुगेकाले चालु आवमा सकिने आयोजनाले जनाएको छ । समग्रमा आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भएको हो ।

आयोजनाका सूचना अधिकारी महानन्दा जोशीका अनुसार भैंसेपाटी नख्खु खण्ड र साँखुको थलीमा मात्र कालोपत्र गर्ने काम बाँकी रहेको छ । अन्य स्थानहरुमा कालोपत्रको काम सबै सकिसकेको उनको दाबी छ ।

आर्थिक वर्ष २०७८/७९ मा कुल २० किलोमिटर सडक कालोपत्र भएको उनले बताए । उनले उक्त आवमा ५९ करोड रुपैयाँ भुक्तानी गरिएको बताए । गत आवका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा पुनः थप बजेट माग गरी उक्त बजेट खर्च भएको हो ।

हाल झण्डै ७ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको छ । ‘अब थली र भैंसेपाटीमा मात्र कालोपत्र गर्न बाँकी हो अन्त सबै कालोपत्र भएर सकिसक्यो,’ उनले चाणक्य पोष्टसँग भने ।

आर्थिक वर्ष २०७७/७८ मा कोभिड १९ का कारण गति लिन नसकेको विस्तारको कामले २०७८/७९ सम्ममा सम्पन्न गर्ने योजना रहेको थियो ।

कुन सडकको अवस्था कस्तो छ ?

चाबहिल–जोरपाटी–साँखु सडक :  यस सडकखण्ड अन्तर्गत कुल ११.६ किलोमिटरमा काम भइरहेको छ । यस सडकको समग्रमा ९५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । ४ वटा खण्डमा विभाजन गरी काम भइरहेको यो सडक यथास्थितिमै सम्पन्न गर्ने गरी काम भइरहेको जोशीले बताए । आयोजना अन्तर्गत थली चोकमा कालोपत्र गर्न बाँकी रहेको हो ।

चाबहिल–साँखु सडकखण्ड २०७२ असोज १३ गतेबाट निर्माण सुरु हुने गरी सम्झौता भएको थियो । आर्थिक वर्ष २०७६/७७ को अन्तिमसम्ममा सम्पन्न हुने भनिए पनि त्यसो हुन सकेको थिएन ।

नख्खु खोला–भैंसेपाटी–बुंमती सडक : यस सडक आयोजना अन्तर्गत २ वटा प्याकेजमा ५ किलोमिटर सडकमा माटो हाल्ने, हिमपाइप हाल्ने, रोड ग्रेडिङको काम भइरहेको छ । २०७३/७४ मा सुरू भएको यो आयोजनामा ८५ प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । यस आयोजना अन्तर्गत पूरै कालोपत्र गर्न बाँकी रहेको हो । गत आवभित्र सम्पन्न गर्ने लक्ष्य रहेपनि हाल उक्त आयोजनाले सार्थक्ता पाउन नसकेको हो ।

इमाडोल–हरिसिद्धि–गोदावरी–लामाटार : यस आयोजना अन्तर्गत हरिसिद्धि–गोदावरी खण्डमा कालोपत्रको काम सम्पन्न भएको छ । ८ किलोमिटर लम्बाइ रहेको सो सडक आयोजनामा हाल कालोपत्र सकी अन्य पेन्टिङ तथा रेलिङको काम भइरहेको छ । २०७३/७४ सुरु भएको यस आयोजना अन्तर्गतको काम सम्पन्न भएको हो ।

कर्मनाशा खोला–गोदावरी सडक : यस सडक आयोजना अन्तर्गत कुल साढे ७ किलोमिटर लम्बाइको सडक खण्डमा कालोपत्र भइसकेको छ । २०७३/७४ मा सुरू भएको यस आयोजनामा ४ सय घर भत्काउनुपर्ने भएकोमा एउटै पनि घर भत्काउन सकिएको थिएन । सर्वोच्च अदालतले स्टे अर्डर जारी गरेका कारण सो खण्डमा यथास्थितिमा काम सम्पन्न गर्न लागिएको हो ।

जोरपाटी–सुन्दरीजल सडक : यस सडक आयोजना अन्तर्गत ७ किलोमिटर लम्बाइमा कालोपत्र गरिएको आयोजनाले जनाएको छ । २०७३ असारमा सुरू भएको यस आयोजना २०७७ कार्तिकसम्म सम्पन्न गर्ने भनिए पनि पूरा हुन नसके पछि २०७८ वैशाख सम्मका लागि थप गरिएको थियो । कोभिडको कारण काम सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गरी हाल काम भइरहेको छ ।

ढोलाहिटी–चापागाउँ–लेले सडक : यस सडक आयोजना अन्तर्गत हालसम्म ९५ प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । यस खण्डमा लेलेसम्म एक लेयरको कालोपत्रको काम सकिएको आयोजनाले जनाएको छ । २०७३/७४ मा सुरू भएको यस आयोजनामा यथास्थितिमा सम्पन्न गर्न लागिएको हो ।

त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक : यस सडक आयोजना अन्तर्गत ११ किलोमिटर लम्बाइ यस खण्डमा काम सम्पन्न भइसकेको छ । ६८८ घर भत्काउनु पर्नेमा ३५० मात्र घर भत्काइएर बाँकी घर नभत्काई यथास्थितिमा निर्माण सम्पन्न गरिएको हो ।

सो खण्डमा ३ वटा ठेक्का रहेको छ । उक्त ठेक्काको कालोपत्र गर्ने काम सकिए पनि रेलिङ, फुटपाथ लगायतका काम सम्पन्न गरी हस्तान्तरण गरिएको छ । त्रिपुरेश्वर–नागढुंगा सडक आयोजना २०७२ असार ३१ गतेबाट सुरू हुनेगरी सम्झौता भएको थियो । २०७६ चैत्र महिनाभित्र सम्पन्न गर्ने भनिए पनि सो समयमा सम्पन्न हुन नसकेपछि २०७७ पुषसम्मको म्याद थप भएको थियो ।

 

 

राप्ती हाइड्रोको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

राप्ती हाइड्रोको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

मंगलम ग्रुपका निर्देशक चुरिवाल ‘कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड’बाट सम्मानित Read Next

मंगलम ग्रुपका निर्देशक चुरिवाल ‘कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड’बाट सम्मानित