काठमाडौं । नेपाल राष्ट्र बैंकले थोरै भए पनि सेयर बजारलाई सपोर्ट गर्ने मौद्रिक नीति ल्याएपछि नेप्सेमा उछाल आएको छ ।
राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिले सेयर लगानीकर्ताका माग पूरा नगरे पनि विद्यमान व्यवस्थामा केही खुकुलो बनाएपछि लगानीकर्ता उत्साहित हुँदा नेप्सेमा उच्च अंकको वृद्धि भएको छ ।
मौद्रिक नीतिमार्फत सेयर धितोकर्जा सम्बन्धी ४ करोडको सीमा हटाइएको छ भने अधिकतम १२ करोडको सीमा यथावत राखिएको थियो । जसले लगानीकर्तालाई ऋण लिन धेरै संस्थामा धाउनुपर्ने बाध्यता हटेको छ । यसअघि एउटा बैंकबाट बढीमा ४ करोड र समग्र बैंकिङ प्रणालीबाट १२ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था थियो । लगानीकर्ता सो व्यवस्था खारेज गर्न माग गर्दै आएका थिए ।
त्यस्तै, मौद्रिक नीतिले साना ऋणीलाई सहुलियत दिँदै सेयर धितोमा दिने कर्जाको जोखिमभार १०० प्रतिशत कायम गरेको छ । सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत हुने व्यवस्था गरेको थियो ।
यसअघि यस्तो भार १५० प्रतिशत थियो । यद्यपि, २५ लाखभन्दा बढी ऋणको जोखिमभार भने १५० प्रतिशत नै यथावत राखिएको छ ।
यसैगरी, मौद्रिक नीतिले मर्जर वा प्राप्तिमा जाने कम्पनीहरुको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको छ । यसले लामो समयसम्म लगानीकर्ताको सम्पत्ति बन्धक रहने व्यवस्था हटाएको छ ।
पछिल्लो १ वर्ष यता सेयर बजार लगातार ओरालो लागेपछि सदनदेखि सडक समेत तातेको थियो । त्यसैगरी, लगानीकर्ताले आन्दोलन समेत गर्दै आएका थिए । मौद्रिक नीतिले लगानीकर्ताका मुख्य माग पूरा नगरे पनि केही खुकुलो बनाउँदा उनीहरु आशावादी देखिएका हुन् ।
नेप्सेमा ६१ अंकको छलाङ
साताको पहिलो कारोबार दिन आइतबार नेप्से ६१.०५ अंकले बढेर २०७८.५१ विन्दुमा पुगेको छ । यसदिन २१९ कम्पनीको २ अर्ब ७३ करोड ९ लाख ३७ हजार १९७ रुपैयाँ बराबरको ६४ लाख २३ हजार १५६ कित्ता सेयर किनबेच भएको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि उच्च बढोत्तरी आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम झन्दै दोब्बरले बढेर पौने ३ अर्ब नाघेको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स, विकास बैंक, अन्य, माइक्रोफाइनान्स लगायत समूहका कम्पनीको मूल्य सर्वाधिक बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै ७.२२ प्रतिशतले बढेको छ ।
आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४० करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीम कम्पनी पौने ७ करोड र हिमालयन डिस्ट्रलरी साढे ६ करोड बढीको कारोबार कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले बढेको बजारमा आज ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सेन्टर फाइनान्स, समृद्धि फाइनान्स र मल्टीपर्पस फाइनान्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, स्वाभिमान लघुवित्त ९.६८, रिलायन्स फाइनान्स ९.६५, श्री इन्भेष्टमेन्ट, बेस्ट फाइनान्स, रिभर फल्स पावर, नेशनल हाइड्रोपावर र ग्रीन भेन्चर्सको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।
त्यस्तै, सिभलि लघुवित्त, बलेफी हाइड्रोपावर, स्वाबलम्बन लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले साढे ८ प्रतिशत कमाएका छन् ।