भक्तपुरमा रुखले बस किच्दा ३ जनाको मुत्यु, १ दर्जन घाइते

काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बसलाई थिच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

सल्लाघारीमा बाटोमाथिको रुख एक्कासि ढलेर सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुर सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

काठमाडौँबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको बा२ख ३५८४ नं को बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६१प ३९६८ नंको स्कुटर थिचिएको उनले जानकारी दिए ।

बसमा सवार दुई र स्कुटरका एक जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा खटिएका प्रत्यक्षयदर्शीले बताएका छन् । बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य घाइते १२ जनाको भने नजिकै रहेको इवामुरा अस्पताल सल्लाघारी, मध्यपुर अस्पताल थिमि र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल कौशलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घाइतेको उद्धार गर्ने, घाइतेलाई अस्पताल पुर्याउने, सडकबाट रुख पन्छाएर यातायात सञ्चालन गर्नेलगायत काममा लागेको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक पाण्डेले घाइतेको सङ्ख्या अझै बढ्नसक्ने बताए ।

मृतक तथा घाइतेको पहिचान भने खुलेको छैन । धेरै वर्ष पुरानो रुख आज दिउँसो १२ बजेपछि चलेको सामान्य हावाले नै ढालेको स्थानीयको भनाइ छ ।

मझगाउँ विमानस्थल विस्तार गर्न ४५ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने, सहजीकरण गर्न आग्रह Read Previous

मझगाउँ विमानस्थल विस्तार गर्न ४५ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने, सहजीकरण गर्न आग्रह

बजारमैत्री मौद्रिक नीति आएपछि नेप्सेमा उछाल, कारोबार दोब्बरले वृद्धि Read Next

बजारमैत्री मौद्रिक नीति आएपछि नेप्सेमा उछाल, कारोबार दोब्बरले वृद्धि