काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने संकेत दिएसँगै लगानीकर्ता निराशावादी हुँदा बजारमा दोहोरो अंकको गिरावट आएको हो ।
नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दै छ । मौद्रिक नीतिमार्फ राष्ट्र बैंकले ब्याजदर वृद्धि, कर्जा लगानीमा नियन्त्रण, अनुत्पादक क्षेत्रमा जाने कर्जा लगायतका कडाइ गर्ने भएको छ ।
साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से २७.२६ अंकले घटेर २०१७.४६ विन्दुमा आइपुगेको छ । यसदिन २१२ कम्पनीको १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रुपैयाँ बराबरको ३३ लाख २० हजार ५१२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै प्रतिशत घटेको छ ।
आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रलरी पौने ७ करोड र गोर्खा फाइनान्स झन्डै ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले घटेको बजारमा आज सप्तकोशी विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ५.७९ प्रतिशत गुमाएका छन् । त्यसैगरी, रुरु जलविद्युत् ४.७३, सूर्योदय वोमी लघुवित्त ४.५६, सिभिल लघुवित्त ४.२६, हिमालयन ऊर्जा ४.०५, नेपाल फाइनान्स ४.०३, राष्ट्र उत्थान लघुवित्त ४.०२, लक्ष्मी इक्वीटी फण्ड, शिवम सिमेन्ट, गोर्खाज फाइनान्स लगायत आधा दर्जन बढीको सेयर मूल्य साढे ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।