चाडपर्व लक्षित ट्राभल एजेन्सीहरुको आकर्षक टुर प्याकेज

काठमाडौं । पछिल्लो समययता दशैं तिहारजस्तो अलि लामो बिदा पाइने चाडपर्वमा नेपालीहरुको घुम्न जानेक्रम बढ्दो छ । त्यो चाहे आन्तरिक पर्यटकीय स्थल होस् वा वाह्य देश नै किन नहोस्, मानिसहरु यो समय घुमफिरमा निकै व्यस्त हुने गरेका छन् ।

 

आ–आफ्नो क्षमत र इच्छा अनुसार घुमफिरका लागि मानिसहरु विभिन्न स्थान छनौट गर्ने गरेको पाइएको छ । त्यसैले दशैं तिहारजस्तो फुर्सदिलो समयमा घुम्ने पर्यटकहरुलाई ध्यानमा राख्दै यो समय ‘ट्राभल्स एण्ड टुर’ एजेन्सीहरुले विभिन्न प्याकेजहरु घोषणा गर्ने गरेका छन् ।

 

ट्राभल एजेन्सीहरुले आन्तरिक तथा वाह्य दुवै स्थानका लागि यो समय आकर्षक प्याकेजमा पर्यटक आकर्षण गर्ने एक प्रकारको होडबाजी नै चल्ने समय हो ।

चाडपर्व नजिकिएसँगै यसपटक पनि थुप्रै ट्राभल्स एण्ड टुर एजेन्सीले आकर्षक प्याकेज सार्वजनिक गरिसकेका छन् । दरबारमार्गस्थित एस ट्राभल एण्ड टुर प्रालिले यस पटक चाडपर्वलाई लक्षित गर्दै ५२ हजार रुपैयाँमा थाईल्याण्डको आकर्षक प्याकेज सार्वजनिक गरेको कम्पनीका म्यानेजर नवराज धरेलले बताए ।

 

४ रात ५ दिनको उक्त टुर प्याकेज चाडपर्व लक्षित रहेको उनले स्पष्ट पारे । त्यस्तै, मलेसिया, थाईल्याण्ड र सिंगापुरको १० दिनको आकर्षक प्याकेज १ लाख १५ हजार रुपैयाँमा उपलब्ध गराएको धरेलले बताएका छन् ।

 

यो कम्पनीले दशैं प्याकेज अफरमा विभिन्न १७ मुलुकका लागि ५२ हजार रुपैयाँ देखि २ लाख रुपैयाँ सम्मको अफर सार्वजनिक गरेको छ । यसबाहेक कम्पनीले स्वदेशकैलागि पनि विभिन्न प्याकेज तयार गरिरहेको र केही दिनमै सर्वजनिक गर्ने बताएको छ ।

नेपालीहरुको बढ्दै गरेको घुम्ने प्रवृत्तिलाई ध्यान दिदै नमस्ते नेपाल ट्राभल एण्ड टुरले पनि विभिन्न प्याकेज तयार गरेको छ । कम्पनीले ९८ हजार रुपैयाँमा नै पूरा नेपालको भ्रमण गर्न सकिने आकर्षक प्याकेज तयार गरेको बताएको छ । त्यस्तै २५ हजार रुपैयाँमा ६ दिनका लागि मुक्तिनाथको आकर्षक प्याकेजको पनि व्यवस्था नेपाल ट्राभलले गरेको छ ।

 

यस्तै अर्को ट्राभल एजेन्सी राम्बो नेपालले ४ रात ५ दिनमा थाईल्याण्ड घुमाउने भएको छ । कम्पनीले ४० हजार ९ सय ९९ रुपैयाँमा थाईल्याण्ड घुमाउने भएको हो । त्यस्तै नेपालीहरु विशेष गरी थाईल्याण्ड, मलेसिया, सिंगापुरलगायतका स्थानहरुमा घुम्न जाने भएकाले कम्पनीले १ लाख ६ हजार ९ सय ९९ रुपैयाँमा यी ३ स्थानमा घुमाउने योजना तयार पारेको छ ।

 

भक्तपुरस्थित राइजिङ् माउण्टेन ट्राभल एण्ड टुरले ५ रातको मुक्तिनाथ प्याकेज मात्रै १४ हजार रुपैयाँमा तयार पारेको छ । त्यस्तै इलाम ताप्लेजुङपाथिभराको ४ रात ५ दिनको प्याकेज १३ हजार ५ सय र ७ दिनको राराको प्याकेज १५ हजार ५ सय रुपैंया, तिलीचो ७ दिनको प्याकेज १८ हजार रुपैंयामा तयार गरेको कम्पनीले बताएको छ ।

 

दशैं तिहार विशेष प्याकेज बनाउँदै नेपालीहरुका लागि रारा ट्रेकले ९ हजार ५ सय रुपैयाँ देखि ४५ हजार रुपैयाँ सम्मको प्याकेज सार्वजनिक गरेको रारा ट्रेकका व्यवस्थापक राजेश शाहीले जानकारी दिएका छन । उनका अनुसार कम्पनीले साढे ९ हजार रुपैयाँमा ३ रात ४ दिन मुस्ताङ मुक्तिनाथ घुमाउने भएको छ । त्यस्तै सेफोक्शुण्डो, तिलिचो तथा अपरमुस्ताङका समेत विशेष प्याकेज रहेको कम्पनीको भनाई छ ।

 

दशैं तिहारको छुट्टी मनाउन ट्राभल एजेन्सीजहरुले प्याकेज सार्वजनिक गर्न थालेको केही वर्ष अघिबाट मात्रै हो । ग्राहकहरुलाई सस्तो मूल्यमा सरल तरिकाले घुमाउने उद्देश्यले यस्ता विभिन्न प्याकेजहरुको व्यवस्था गर्ने गरेको व्यवसायीहरु बताउँछन् ।

सिटिजन बैंकको १५% लाभांश पारित, अध्यक्षमा राजनसिंह भण्डारी निर्वाचित Read Previous

सिटिजन बैंकको १५% लाभांश पारित, अध्यक्षमा राजनसिंह भण्डारी निर्वाचित

नेपाल र संयुक्त अरब इमिरेट्सबीच द्विपक्षीय हवाई सम्झौता Read Next

नेपाल र संयुक्त अरब इमिरेट्सबीच द्विपक्षीय हवाई सम्झौता