काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले निक्षेप संकलन भन्दा बढी कर्जा लगानी गरेका छन् । सुरुआती महिना कर्जा लगानीमा आक्रामक देखिएका बैंकहरुले सो अनुसार निक्षेप संकलन गर्न नसक्दा तरलता अभाव भोग्दै आएका छन् ।
नेपाल राष्ट्र बैंकले यस आवमा निजी क्षेत्रतर्फ १९ प्रतिशतले कर्जा विस्तारको लक्ष्य लिएपनि पूरा गर्न भने बैंकहरुले सकेनन् । यस वर्षमा २७ वटा वाणिज्य बैंकहरुले ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ४ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ सम्म कुल ४० खर्ब ८८ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले २०७८/७९ सम्म आइपुग्दा ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुर्याएका छन् ।
यसैगरी, आर्थिक वर्ष २०७७/०७८ सम्म कुल सावा ३७ खर्ब कुल कर्जा विस्तार गरेका बैंकहरुले गत आवको असार मसान्नतसम्म ४१ खर्ब ७४ अर्ब कुल कर्जा लगानी गरेका हुन् ।
कोभिडपछि आक्रामक व्यवसाय विस्तारमा लागेका बैंकहरुले जसरी कर्जा लगानी बढाएका थिए सोही अनुसार निक्षेप संकलन गर्न सकेनन् । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सीसीडी अनुपातलाई सीडी बनाएसँगै बैंकहरुको कर्जा विस्तार क्षमता संकूचन बनेको थियो ।
राष्ट्र बैंकले तरलता प्रसोचनका लागि विभिन्न सुविधा दिएर सीडी अनुपात कायम गरेका बैंकहरुले यस वर्ष पनि सुरुदेखि तरलता समस्या भोगिरहेका छन् ।
स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने लगायतका सुविधाहरु कटौती भएपछि समस्यामा रहेका बैंकहरु चालु आवमा पनि अपेक्षा अनुसार निक्षेप संकलन गर्न नसक्ने देखिएको छ ।
यद्यपी, राष्ट्र बैंकले मौद्रिक नीति मार्फत केही सहज व्यवस्था गरे तोकिएको कर्जा विस्तारको लक्ष्य भेट्टाउन सकिने बैंकरहरु बताउँछन् ।
कुन बैंकले कति गरे व्यवसाय विस्तार ?
गत आवमा सबैभन्दा धेरै निक्षेप संकलन गर्नेमा नबिल बैंक अग्रपंक्तिमा रहेको छ । नेपाल बंगलादेश बैंकलाई आफूमा गाभेको नबिलले (बंगलादेशकोसहित) गत वर्ष १ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । सोही अवधिमा नबिलले १ खर्ब ४ अर्ब कर्जा प्रवाह गरेको छ ।

गत वर्षको असार मसान्तसम्म नबिलले कुल ३ खर्ब २९ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ९ अर्ब कर्जा लगानी गरेको छ ।
गत वर्ष सबैभन्दा कम निक्षेप संकलन गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यस बैंकको निक्षेप संकलन ७ अर्ब ४४ करोड रुपैयाँले घटेको छ ।
यस्तै, गत वर्ष सबैभन्दा कम कर्जा लगानी गर्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । यस बैंकले १ अर्ब १६ करोड रुपैयाँले कर्जा लगानी बढाएको छ । यसैगरी, एनआइसी एसिया बैंकले ८ अर्ब १६ करोड निक्षेप संकलन गरेको छ भने ४ अर्ब २४ करोड रुपैयाँले कर्जा लगानी गरेको छ ।
कुमारी बैंकले ३० अर्ब निक्षेप संकलन साढे १६ अर्ब कर्जा लगानी गरेको छ । हिमालयनले साढे ३० अर्ब निक्षेप संकलन साढे २४ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ ।