काठमाडौं । कतार एयरवेज बोइङको ७७७-एक्स मोडल जहाजको पहिलो खरिदकर्ता ह्ने भएको छ । अमेरिकी हवाईजहाज निर्माता कम्पनी बोइङले निर्माण गर्ने उक्त जहाजको पहिलो खरिदकर्ता आफू हुने कम्पनीले जनाएको हो ।
कतार एयरवेजका सीईओ अकबर बल बेकरले आफ्नो कम्पनी नै बोइङ ७७७-एक्स को पहिलो खरिदकर्ता हुने दाबी गरेका हुन्। ‘बोइङ ७७७को पहिलो खरिदकर्ता नै हामी हुनेछौं। सन् २०२१ बाटै यो जहाजमार्फत इमिरेट्स आउजाउ गर्ने यात्रुलाई सेवा दिने उद्देश्य लिएका थियौं। अब सन् २०२५ भित्रै यो उद्देश्य पूर्ति हुनेछ,’ सीईओ बेकरले भने।
उक्त जहाज सन् २०२५ सम्ममा डेलिभरी भइसक्ने कम्पनीले जनाएको छ।कम्पनीले यो जहाज ल्याएसँगै आफ्नो अन्तर्राष्ट्रिय बजारमा गन्तव्य विस्तार गर्ने योजना बनाएको छ। हाल यो कम्पनी फिफा विश्वकपका लागि आफ्नो प्रचारप्रसारमा देखिएको छ।
बोइङ ७७७-एक्स पछिल्लो संस्करणको जहाज हो। लामो दूरीको उडान भर्ने यो वाइडबडी जहाजमा ट्वीन इन्जिन समावेश गरिएको छ। जीइ नाइन एक्स , फोल्डिङ विङटिप्स समावेश गरिएको जहाजमा अरु जहाजको तुलनामा फराकिलो क्याबिन र सिट रहने जनाइएको छ। एजेन्सी