काठमाडौं। सरकारी स्वामित्वको नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन्। शनिबार बसेको बैंक सञ्चालक समिति बैठकले अधिकारीलाई ४ वर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो।
बैंकका डेपुटी सीईओ रहेका अधिकारीले खुल्ला प्रतिस्पर्धामा १३ जना प्रतिस्पर्धिहरुलाई पछि पार्दै नियुक्त भएका हुन् । उनले प्रमुख कार्यकारीबाट देवेन्द्रप्रताप शाह अवकाश भएपछि कामु सीईओका रुपमा ६ महिनादेखि बैंकको नेतृत्व गर्दै आएका थिए।
अधिकारीले २०६१ देखि सहायक प्रबन्धक (छैठौं) तहबाट बैंकिङ करियर सुरु गरेका थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए र पूर्वाञ्चल विश्वविद्यालयबाट ईएमबीए गरेका छन् ।
उनले नेपाल बैंकमा सीईओको रुपमा मासिक ३ लाख रुपैयाँ तलब पाउनेछन् ।
