एक करोड खर्चेर ट्राफिक लाईट ठडियो तर बलेन, बाल्ने जिम्मेवारी कस्काे ?

काठमाडौं । सडक विभागले ८ स्थानमा ‘ट्राफिक लाइट’ राख्न थालेको ९ महिना बितिसकेको छ । ट्राफिक लाइटहरु ८ स्थानमै जडान भएको भएपनि हालसम्म बल्न भने सकेको छैन । प्रजिल कन्स्ट्रक्सनले ठेक्का दिई ट्राफिक लाइट जडान भएपनि ९ महिना बितिसक्दा समेत बल्न सकेको छैन ।

 

८ स्थानमा राखिएका ट्राफिक लाइटको बल्ने ‘टाइमिङ’ फरक फरक हुन पुगेकोले त्यसमा मिलाउनु पर्ने अवस्था आएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

 

ट्राफिक लाइटको टाइमिङ एउटै नहुँदा गाडीहरु एकै ठाउँमा ठोकिने वा रोकेरै राख्नु पर्ने भएकाले एउटै ‘फ्लो’ नहुँदा केही लाइटहरुमा समय बढाउने र केहीमा घटाउनु पर्ने अवस्था आएको महाशाखाका प्रवक्ता रबीकुमार पौडेलले जानकारी दिए । उनका अनुसार हाल त्यसको विषयमा छलफल भइरहेको छ ।

 

‘ट्राफिक लाइटको विषयमा यसको बल्ने समय मिलाउन छलफल भइरहेको छ । सबै लाइटको ‘सिग्नल लिङक’ हुनुपर्छ । नत्र त्यसले दुर्घटना पनि निम्त्याउन सक्छ त्यही भएर नबालेका हौँ,’ पौडेलले चाणक्या पोष्टसँग भने ।

 

ट्राफिक प्रहरी महाशाखाले ३६ स्थानमा ट्राफिक लाइट राख्न सरकारसँग माग गरेको ट्राफिक महाशाखा प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार यसलाई समेत जडान गरेर सबै ‘लिङक कनेक्ट’ गरेर एक साथ ट्राफिक लाइट सञ्चालनमा ल्याइने छ ।

 

उनका अनुसार एउटा ट्राफिक लाइटमा हरियो बल्दा अन्य सबै ट्राफिक लाइटमा हरियो बल्ने हुनुपर्छ । हाल जडान गरिएको सिस्टम यथास्थितिमा सञ्चालन गर्दा यो प्रभावकारी नहुने उनले बताए ।

 

सडक विभागले भने ट्राफिक लाइट बाल्नका लागि प्राविधिकलाई त्यसको टाइमिङ मिलाउन जिम्मा दिइएको जनाएको छ । विभाग अन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख दिप बाराहीले ठाउँ ठाउँमा ट्राफिक लाइटको टाइमिङ मिलाउन प्राविधिकलाई निर्देशन दिइएको बताए ।

 

उनका अनुसार सबैमा एउटै टाइम सेट नभएसम्म कुनै बक्ति बाल्न नमिल्ने अवस्था भएको हो । उनले यस विषयमा ट्राफिक तथा प्राविधिक व्यक्तिहरुसँग छलफल भइरहेको बताए । यस विषयमा सोमबार पूर्ण छलफल राखिएको उनले जानकारी दिए ।

 

यस्तै, प्रजिल कन्स्ट्रक्सनका आयोजना प्रमुख रामचन्द्र खड्काले आफुले गर्ने काम सकिसकेको बताएका छन् । उनका अनुसार कन्स्ट्रक्सनको काम लाइट किनेर जडान गर्ने मात्र रहेको थियो ।

 

‘हामीले किनेर जडान गर्ने हो, त्यो गरेर हस्तान्त्रण गरिसकेका छौँ, बाल्ने नबाल्ने हाम्रो जिम्मा हैन,’ खड्काले चाणक्य पोष्टसँग भने ।

 

सडक सुरक्षा तथा ट्राफिक शाखाले ९७ लाख ५० हजार रुपैयाँमा उक्त टेन्डर प्रजिल कन्स्ट्रक्सनलाई दिएको थियो । उक्त कार्यका लागि २०७५ पुस १२ गते प्रजिल कन्स्ट्रक्सनले काठमाडौं उपत्यकाका ८ स्थानमा ट्राफिक लाइट राख्ने टेन्डर पाएको थियो ।

 

सिंहदरबार, पद्मोदय मोड, तिनकुने, कालिमाटी, मित्रपार्क, गौशाला, बागबजार र पुरानो बानेश्वरमा ट्राफिक लाइट जडान गरिएको हो । चैत्र अन्तिमसम्ममा जडान भइसकेको ट्राफिक लाइट वैशाखबाट बाल्ने योजना भए पनि त्यो सफल हुन सकेको छैन ।

 

हाल बानेश्वर र महाराजगञ्ज बाहेक अन्य स्थानका ट्राफिक लाइट सञ्चालनमा आउन सकेका छैनन् ।

 

यस्तै, पछिल्लो समय ट्राफिक प्रहरी महाशाखाले ३६ स्थानमा ट्राफिक लाइट राख्न सरकारसँग माग गरेको ट्राफिक महाशाखा प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार यसलाई समेत जडान गरेर सबै ‘लिङक कनेक्ट’ गरेर एक साथ ट्राफिक लाइट सञ्चालनमा ल्याइने छ ।

 

हालै ट्राफिक प्रहरीले ‘भोलिन्टर’को रुपमा ट्राफिक सहयोगीहरु राखेको छ । गौशाला, बानेश्वर, तिनकुने, कोटेश्वर लगायतका स्थानमा जेब्राक्रसिङमा सहयोगका लागि ट्राफिक सहयोगी राखिएको उनले जानकारी दिए । १५ गतेसम्मका लागि ट्राफिक सहयोगी राखिएको हो ।
उनीहरुले सर्वसाधारणलाई बाटो काट्ने बेला र गाडी गुडेका बेला सहयोग गर्दै आएका छन् ।

 

दशै अगाडी मानिसहरुको चाप सडकमा बढ्ने भएकाले भोलिन्टरको रुपमा सहयोगीहरु राखिएको उनले बताए ।

 

यसरी प्रत्येक सडकका जेब्राक्रसिङमा २/२ जना सहयोगीहरु राखिएका छन् ।

 

एक जना ट्राफिकले मात्र सबै नभ्याउने र जथाभावी बाटो काट्ने र गाडी रोक्ने र गुडाउने भएकाले ती सहयोगी राख्नु परेको महाशाखाले जनाएको छ ।

 

अझै पनि सिंहदरबार चोक र काठमाडौं महानगरपालिका अगाडि सहित ६ स्थानमा रहेका ट्राफिक बत्ति नबल्ने अवस्थामा रहेका छन् । झण्डै ९ स्थानमा रहेका मध्ये २ स्थानका ट्राफिक बत्ति बल्ने गरेका छन् ।

 

महानगरिय प्रहरी कार्यालयको तथ्यांक अनुसार हाल सिंहदरवार चोक, काठमाडौं महानगरपालीका अगाडि, त्रिचन्द्र कलेज अगाडि, भोटेबहाल, कालिमाटी र खिचापोखरी मोडमा रहेका ट्राफिक बत्ती नबल्ने अवस्थामा रहेका छन् ।

दशैंमा लाग्ने ४ रमिता ! Read Previous

दशैंमा लाग्ने ४ रमिता !

नेपाल बैंकको सीईओमा कृष्ण अधिकारी नियुक्त Read Next

नेपाल बैंकको सीईओमा कृष्ण अधिकारी नियुक्त