दशैंमा लाग्ने ४ रमिता !

काठमाडौं । दशैं नेपालीहरुले मनाउने चाडवाडमध्ये सबैभन्दा ठूलो चाड हो । यसले समाजका सबै तह र तप्कामा मानिसहरुलाई छुन्छ । बच्चा, केटाकेटीदेखि बुढापाकासम्म, धनीदेखि गरिबसम्म, उद्योगीदेखि मजदूरसम्म सबैको लागि दशैं विशेष हुन्छ ।

 

समाजमा रहेका हुँदा खाने र हुनेखाने दुवै वर्गको लागि यसले विशेष महत्व राख्छ । यी दुवै वर्गले आ–आफ्नो तरिकाले मनाउँछन् । हुँदा खाने वर्गले परिवारका सबै सदस्य जम्मा भएर दशैंभरी काम नगरी दुईछाक मीठो मसिनो खाने, एकसरो नयाँ कपडा लगाउने पर्वको रुपमा मनाउँछन् । हुने खाने वर्गले खानपिनमा भन्दा पनि विदेशमा रहेका छोराछोरी भेट्ने, देश, विदेश घुम्ने, फुर्सदको समयको रुपमा मनाउँछन् ।

 

दशैंमा खसीबोका किनबेच गर्ने ठाउँ, मासु पसल, तरकारी तथा फलफूल बजार, सवारीसाधन खरिद–बिक्री गर्ने ठाउँ, सडकका फूटपाथ लगायतका ठाउँहरुमा जताततै रमितै रमिता लागेका हुन्छन् ।

 

हुनेखाने वर्गलाई खानपिन गर्ने र विलासी जीवनशैली जिउने सन्दर्भमा सधैं दशैं जस्तो नै हुन्छ भन्दा फरक नपर्ला । तर, हुँदा खाने वर्गको लागि यो वर्षदिनमा एक विशेष अवसर जस्तै हो ।

 

दशैंको महत्व सहरभन्दा पनि ग्रामीण क्षेत्रमा विशेष रहन्छ । आफ्नो गाउँ छोडेर अध्ययन गर्न, रोजगारी, व्यापार, व्यावसाय लगायतका पेशा अँगाल्न सहर बसेका मानिसहरु फर्किने गर्छन् । उनीहरुले गाउँमा रहेका आफन्तहरुलाई नयाँ कपडा, मरमसला लगिदिन्छन् । गाउँमा सबैको जमघट हुन्छ । यसले दशैंमा सिंगो गाउँकै मुहार हँसिलो बनाएको हुन्छ ।

 

यता सहरमा भने दशैं मनाउने त गर्छन्, तर गाउँघरको जस्तो विशेष महत्व राख्दैन । सहरमा बस्ने मानिस गाउँका भन्दा आधुनिक जीवन शैली अपनाउने गर्छन् । उनीहरुलाई नयाँ कपडा लगाउनु, एकछाक मीठो मसिनो खानु खासै नौलो हुँदैन । यसबेला सहरमा बस्ने मानिहरुपनि आफूलाई ‘फ्रेस’ बनाउन गाउँ जाने गर्छन् । ग्रामीण क्षेत्रबाट आएर सहरमा बसोबास गर्ने व्यक्तिहरु पनि गाउँ नै फर्कने हुनाले सहर सुनसान जस्तै नै हुन्छ ।

 

कहीँ खुसी, मनोरञ्जन प्रदान गर्ने खालका फुर्सदिला मानिसहरुको रमिता लागेका हुन्छन् भने कहीँ दैनिक गुजारा गर्न संघर्षशील मानिसहरुले भोग्नु पर्ने दुःख, व्यहोर्नु पर्ने हैरानीको रमिता लागेको हुन्छ ।

 

दशैं नजिकिएसँगै बजारमा चहलपहल बढ्छ । बजारमा जताततै भीडभाड बढ्छ । व्यापारीहरुलाई व्यापार गर्न भ्याईनभ्याई हुन्छ भने सामान्य मानिसहरुलाई पनि आफ्नो गक्ष अनुसार दशैंको जोहो गर्ने चटारो रहेको हुन्छ ।

लेखक सुवेदी

दशैंमा सहरमा जताततै लाग्ने भीडले कुनै विशेष जात्रा, रमिताको झल्को दिन्छ । हुनत नेपालमा प्रायः सधैंजसो रमिता लागेकै हुन्छ । कहिले राजनीतिक, कहिले शैक्षिक, कहिले सामाजिक यस्तै विविध क्षेत्रहरुमा लागेका रमिता हेर्नेको भीड देखिनै रहिन्छ । कहीँ खुसी, मनोरञ्जन प्रदान गर्ने खालका फुर्सदिला मानिसहरुको रमिता लागेका हुन्छन् भने कहीँ दैनिक गुजारा गर्न संघर्षशील मानिसहरुले भोग्नु पर्ने दुःख, व्यहोर्नु पर्ने हैरानीको रमिता लागेको हुन्छ ।

 

झन दशैं लागेपछि त जताततै रमितै रमिता देखिन्छ । दशैं नजिकिएसँगै लाग्ने केही रमिताहरुको बारेमा तल चर्चा गरिएको छ ।

 

टिकट काउन्टरमा लाग्ने रमिता

 

दशैंका बेलामा उपत्यकाबाट ३० देखि ३५ लाख मानिस बाहिरिने गर्छन् । अधिकांश नेपालीहरुको आफ्नो गाउँ जाने मुख्य साधन भनेकै सार्वजनिक सवारीसाधन हुन् । एकाध बाहेका अधिकांशले बस, माइक्रोबस चढेरै आफ्नो गन्तव्यमा पुग्नु पर्ने बाध्यता रहेको हुन्छ । उनीहरुलाई दशैं सुरु हुनुभन्दा केहीहप्ता अगाडिदेखि नै कसरी घर फर्कने, टिकट पाइएला कि नपाइएला भन्नले पिरलोले पोल्न थाल्छ । दशैंमा सामान्य अवस्थामा जस्तै बस, माइक्रोबस चढेर गन्तव्यमा पुग्न पाउनु भनेकै कल्पना कै कुरा हो ।

 

सजिलै घर जाने हो भने कि त रिजर्भ नै गर्नु पर्योकि त अग्रिम टिकट बुकिङ गर्नु पर्यो । सबै वर्गका मानिसको लागि रिजर्भ लिएर गाउँ जानसक्ने हैसियत छैन् । उनीहरुको विकल्प भनेकै अग्रिम टिकट बुकिङ गर्नु हो ।

 

अग्रिम टिकट त लिने तर, कसरी । दशैंमा अग्रिमा टिकट सहजै पाउनु भनेको ठूलै युद्ध जिते सरहनै हो । सजिलै बसको सिटमा बसेर घर जाने सपना बोकेर अग्रिम टिकट बुकिङ गर्न टिकट काउन्टर जान्छन् । टिकट काउन्टर अगाडि मध्येरात देखि नै ठूलो भीड लागेको हुन्छ । आफ्नो पालो आएपछि काउन्टरमा पुग्छन्, उताबाट जवाफ आउँछ टिकट सकिसक्यो । अनी फेरि भोलि त टिकट पाइएला नि भन्नि आशामा पर्किन्छन् । भोलि मध्यरातमै गएर टिकट काट्न लाइनमा बस्छन् । मुस्किलले एउटा/दुईटा टिकट पाउँछन् । यसले उनीहरुको सबै परिवार जानको लागि पर्याप्त हुँदैन् । उनीहरुलाई कि त ‘ब्याल्याक’मा महँगोमा टिकट किन्नु पर्ने कि त उभिएरै यात्रा गर्नु पर्ने बाध्यता हुन्छ ।

 

सरकारले भाडा नबढाए ठीकै छ नत्र नियमित रुटमा कममात्रमा गाडी गुडाउँछन् र धेरैजसो गाडी रिजर्भमा यात्रु बोक्छन् ।

 

सरकारले भन्छ दशैंको लागि पर्याप्त सवारीसाधनको व्यवस्था गरिएको छ । टिकट बुकिङ गर्न गयो हात लग्यो शून्य हुन्छ । यातायात व्यवसायी भन्छन् सरकारले भाडा बढाएको छैन, व्यवसायी थप बस थप्न इच्छुक छैनन् । व्यावसायी नियमित रुटमा गाडी गुडाउनभन्दा रिजर्भ लैजान नै तल्लिन भएर लाग्छन् । सामान्य अवस्थामा एक जना यात्रु आएपनि तानातान गर्ने यातायात व्यवसायी दशैंको बेलामा यात्रुलाई नियमित रुटको टिकट बेच्नै नपरे हुन्थ्यो जस्तो गर्छन् ।

 

यायायात व्यावसायी दशैंमा यात्रुलाई सेवा दिनु आफ्नो दायित्वभन्दा पनि भाडा बढाउने र कम्तिमा पनि तीन महिनाको किस्ता तिर्ने गरी पैसा कमाउने मौकाको रुपमा लिन्छन् । सरकारलाई सकेसम्म आफ्नो सामू घुँडा टेकाएरै छोड्छन् । सरकारले भाडा नबढाए ठीकै छ नत्र नियमित रुटमा कममात्रमा गाडी गुडाउँछन् र धेरैजसो गाडी रिजर्भमा यात्रु बोक्छन् ।

 

सरकारले कागजी रुपमा यातायात क्षेत्रमा रहेको सिन्डिकेट हटाएको घोषणा गरिसकेको छ । तर, व्यावहारिक रुपमा यातायात व्यावसायीको सिन्डिकेट झन बलियो भएको छ । उनीहरुले आफ्नो पकड क्षेत्रमा आफूखुसी, मनलाग्दी गाडी गुडाएकै छन् । सरकारले दिएका निर्देशन मान्नु त परकै कुरा सरकारलाई आफ्नो पछाडि दौडाउने सामथ्र्य राख्दछन् । यसले राज्यसत्तामा रहने ठालूहरुलाई त खासै असर पर्दैन तर, सर्वसाधरणलाई भने सधैंझैं दुःख, हैरानी, आहत व्यहोर्नुको विकल्प छैन् ।

 

बम्पर अफरवाला पसलमा लाग्ने रमिता

 

चाडवाडका बेलामा बजारका अधिकांश पसलहरुमा विशेष अफर, बम्पर अफर चलेको हुन्छ । सामान्य पसलदेखि आधुनिक सपिङ्ग कम्प्लेक्सका ब्रान्डेड पसलहरुमा समेत ‘ग्रान्ड डिस्काउन्ट’ लेखिएका पोस्टर टाँसिएका हुन्छन् ।

 

विशेषगरि लुगाकपडा, जुत्ता, इलेक्ट्रिक पसलहरुमा यस्ता अफर दिइएको हुन्छ । व्यापारीहरुले जसरी हुन्छ ग्राहकलाई आकर्षित गरी ‘स्टक सामान क्लिरेन्स’ गर्ने र बढीभन्दा बढी व्यापार गर्ने रणनीति बनाएका हुन्छन् । यो व्यापारीको ‘बिजनेस पोलिसी’ नै हो ।

 

जहाँ अफर देख्यो त्यहीँ झुम्मिने नेपालीहरुको बानी नै हो । अफरवाला पसलमा गएर ‘सपिङ्ग’ गर्नेको भीड कम्ता रमाइलो हुँदैन । सामान्य अवस्थामा १० प्रतिशत पनि छुट दिन ‘बार्गेनिङ’ गर्ने पसलेले दशैंको बेला कसरी ८० प्रतिशत छुट दिन सक्छन् ? सामान्य मानिसलाई त्यो बुझ्नभन्दा पनि सबैभन्दा बढी छुट दिने पसर कहाँ छ र कति प्रतिशत छुट अफर छ भन्ने बढी चासो हुन्छ ।

 

अधिकांश निजी बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्रबैंकबाट दशैंका लागि भनेर ल्याएका नयाँ नोट आफ्ना कर्मचारी, चिनजानका मानिसलाई बाँडेर बैलैमा सक्छन् । निजी बैंकबाट सर्वसाधरणले नयाँ नोट पाउने संभावना विरलै हुन्छ ।

 

ग्राहकलाई सामानको वास्तविक मूल्यभन्दा पनि आफूले किन्ने सामानमा पाउने/पाएको छुट ठूलो कुरा हुन्छ । व्यापारीहरु स्टक सामान सावाँमै बेचेर भएपनि आफ्नो लगानी उठाउँछन् भने ग्राहकहरु मैले त यती प्रतिशत डिस्काउन्टमा सामान किनेँ भनेर मख्ख परेका हुन्छन् । यहाँ ‘हेभी डिस्काउन्ट’ सामान बेच्ने पसले र ‘हेभी डिस्काउन्ट’मा सामान किन्ने ग्राहक एकअर्काका रमिता हेरेर रमाइरहेका हुन्छन् ।

 

नयाँ नोट साट्ने ठाउँमा लाग्ने रमिता

 

दशैंमा टिका लगाउँदा दक्षिणामा नयाँ नोट दिने प्रचलन चल्दै आएको छ । प्रायःजसो सबैले दशैंका लागि नयाँ नोट साट्ने गर्छन् । तर, नयाँ नोट लिनपनि त्यति सजिलो कहाँ छ र । सर्वसाधरण नयाँ नोट लिनका लागि बैंकमा जाने गर्छन् । अधिकांश निजी बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्रबैंकबाट दशैंका लागि भनेर ल्याएका नयाँ नोट आफ्ना कर्मचारी, चिनजानका मानिसलाई बाँडेर बैलैमा सक्छन् । निजी बैंकबाट सर्वसाधरणले नयाँ नोट पाउने संभावना विरलै हुन्छ ।

 

अनी उनीहरु नयाँ नोट साट्न सरकारी स्वामित्वका बैंकहरुमा जान्छन् । त्यहाँपनि लाइन नबसी नयाँ नोट पाईदैन । यसो चिनजान भएका मान्छे भए त सजिलै पाउन सकिन्छ, नत्र लाइन बस्नुको विकल्व हुँदैन । सरकारी बैंकमा पनि नयाँ नोट वितरण गर्न सुरु गरेको एक÷दुई दिनमै नयाँ नोट सकिन्छ । कमैमात्रले ती बैंकबाट नयाँ नोट लिन्छन् ।

 

अनी सर्वसाधरणले नयाँ नोट साट्ने अन्तिम गन्तव्य भनेकै नेपाल राष्ट्र बैंक हो । राष्ट्र बैंकले सूचना जारी गरेर नयाँ नोट बाँड्ने भनेकै दिनदेखि यहाँ नयाँ नोट साट्नेको भीड लाग्छ । कहिले पानीले भिज्दै त कहिले टन्टलापुर घाममा लाइन बस्दै नयाँ नोट साट्न लाइन बस्नेको ताँती हुन्छ ।

 

कहिले त एक/दुई घण्टा लाइन बस्दै नयाँ नोट साट्न सकिन्छ भने कहिले त दिनभर लाइन बस्नु पर्छ । दिनभर लाइन बसेर पनि आफूले चाहेजति नयाँ नोट साट्न पाईदैन, त्यसमा राष्ट्र बैंकले सीमा तोकिदिएको हुन्छ । यहाँ पनि आफूले चिनेजानेका कर्मचारी भए जाने बित्तिकै नयाँ नोट साट्न सकिन्छ । नयाँ नोट साट्ने मामिलामा पनि जनताले केहीहदसम्म हैरानी व्यर्होनै पर्छ । यहाँ पनि नयाँ नोट साट्न लाइन बस्ने र ती लाइन बसेका व्यक्तिलाई हेर्नेको रमिता हुन्छ ।

 

बजार अनुगमनको नाममा लाग्ने रमिता

 

चाडवाड नजिकिएसँगै सरकारको तर्फबाट पनि केही रमिता देखाइन्छ । बजार अनुगमनको हल्ला चलाइन्छ । यसो आँखामा छारो हाल्न दुई चार वटा पसलमा गएर छड्के जाँच गरिन्छ । सामान्य हैसियतको व्यापारी छ भने कारवाही गरिन्छ र अरु व्यापारीलाई पनि तर्साइन्छ ।

 

पहुँचवाला, राजनीतिक संरक्षणवाला व्यापारी छन् भने अनुगमन टोलीले छुनै सक्दैन् । व्यापारीहरुले गरेको कालो बजारी नियन्त्रण गर्नु त कहाँ हो कहाँ उल्टो अनुगमन टोली नै अपमानित हुँदै फर्कनु पर्दछ ।

 

यसको पछिल्लो दृष्टान्त हो न्यूरोडमा गरिएको बजार अनुगमन । रञ्जना गल्लिमा रहेका होलसेल पसलहरुमा अनुगमन गर्न पुगेको वाणिज्य विभागका कर्मचारीलाई व्यापारीले पसल भित्र पस्नसम्म दिएनन् । उल्टो अब आइन्दा बजार अनुगमन गर्न आए बोरामा पोको पारेर खोलामा फाल्दिने धम्की दिए । सरकार ती व्यापारीलाई कारवाही गर्ने हिम्मत राख्न सक्दैन् । यसबाटै पुष्टिहुन्छ सरकारले चाडवाडको मुखमा गर्ने बजार अनुगमन कत्तिको प्रभावकारी हुन्छ भन्ने ।

 

बजारमा नियमित अनुगमन गर्नु, अस्वभाविक मूल्य वृद्धि गरी कालोबजारी गर्ने, कानूनले तोकेभन्दा बढी नाफा खाने, नक्कली सामान बेच्ने अवैध व्यापारीहरुलाई कारबाहीको दायारामा राज्यको कर्तव्य हो ।

 

सर्वसाधरणलाई ठगिन नदिनु राज्यको दायित्व हो । बजारमा नियमित अनुगमन गर्नु, अस्वभाविक मूल्य वृद्धि गरी कालोबजारी गर्ने, कानूनले तोकेभन्दा बढी नाफा खाने, नक्कली सामान बेच्ने अवैध व्यापारीहरुलाई कारबाहीको दायारामा राज्यको कर्तव्य हो । विडम्वना, आवश्यक जनशक्तिको अभाव, नियामक निकायले आफ्नो कार्यक्षेत्र नपर्ने जस्ता कारण देखाएर नियमित अनुगमनगर्नबाट टाढिन्छ । यसले जनता चर्को मूल्य वृद्धि, महँगाई, ठगाईको मामरमा परेका छन् भने व्यापारीहरु सोजासाझा नेपालीलाई ठग्दैअकूत नाफा कमाउन उद्दत रहेका छन् ।

 

यस्तै दशैंमा खसीबोका किनबेच गर्ने ठाउँ, मासु पसल, तरकारी तथा फलफूल बजार, सवारीसाधन खरिद–बिक्री गर्ने ठाउँ, सडकका फूटपाथ लगायतका ठाउँहरुमा जताततै रमितै रमिता लागेका हुन्छन् ।

 

यसरी नेपालीहरुले कतै सरकारले देखाएको रमिता त कतै दैनिकी गुर्जान आफैंले देखाउनु परेको रमिता हेर्नमा अभ्यस्त भइसकेका छन् । रमिता हेर्दै र देखाउँदै दशैं मनाउनु नेपालीहरुको नियति भइसकेको छ ।

ग्लोबल आइएमईले ल्यायो एनआरएन लक्षित चार नयाँ खाता योजना Read Previous

ग्लोबल आइएमईले ल्यायो एनआरएन लक्षित चार नयाँ खाता योजना

एक करोड खर्चेर ट्राफिक लाईट ठडियो तर बलेन, बाल्ने जिम्मेवारी कस्काे ? Read Next

एक करोड खर्चेर ट्राफिक लाईट ठडियो तर बलेन, बाल्ने जिम्मेवारी कस्काे ?