पेट्रोल भर्न १० दिनसम्म लाइनमा !

कोलम्बो । चरम आर्थिक संकट झेलिरहेको श्रीलंकामा इन्धनको चरम हाहाकार भएको । राजनीतिमा वंशवाद हाबी हुँदा आर्थिक संकटमा फसेको श्रीलंकामा विदेशी मुद्राको सञ्चिति नहुँदा इन्धन आयात गर्न धौधौ भएको छ ।

सरकारले अत्यावश्यक सेवा बाहेक अन्य सवारीसाधनलाई अत्यन्तै कम इन्धन उपलब्ध गराएको छ । श्रीलंकामा इन्धन भर्न घण्टौँ लाइन लाग्ने कुरा सामान्य बनिसकेको ।

राजधानी कोलम्बोमै तेल भर्न लाम बसेका गाडीको लाइन ५ किलोमिटरभन्दा बढी छ । यसैबीच बीबीसी पाकिस्तान र अफगानिस्तान संवाददाता सिकंन्दर किरमानीले दस दिनेदेखि पेट्रोलको लाइनमा बसेका एक मिनीबस चालकसँग कुरा गरेका छन् । १० दिनदेखि लाइनमा रहेका ४३ वर्षीय प्रथम भन्छन्, ‘म गत बुधबारदेखि गाडीमै सुतिरहेको छु । निकै कठिन छ तर के गरुँ । मैले पूरा ट्यांकी तेल पनि पाउनेवाला छैन ।’

प्रथम पर्यटकलाई घुमाउने काम गर्छन् । तर पहिलेजस्तो टाढाटाढा भने जाँदैनन् । एयरपोर्टबाट होटेल लैजाने–ल्याउने काम गर्छन् उनी । बल्ल बल्ल पाएको तेलले तीन पटक एयरपोर्ट जान(आउन पुग्छ । फेरि उही लामो लाइनमा बस्नु पर्ने हुन्छ उनलाई । प्रथमका भाइ र छोराले कहिलेकाहीँ पालो दिन्छन् ताकि उनले केहीबेर भए पनि आराम गर्न पाउँछन् ।

विदेशी मुद्रा सञ्चिति रित्तिँदा श्रीलंका स्वतन्त्र राष्ट्र भएयता (सन् १९४७) कै गम्भीर आर्थिक संकटबाट जुझिरहेको छ । जसका कारण बजारमा अभाव र मूल्यवृद्धि अकासिएको छ । सर्वसाधारणको दैनिकी कष्टकर बनिरहेको छ ।

विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी कार्यालयको सेवासमेत प्रभावित छन् । मुलुकको यो अवस्था सिर्जना हुनुमा राष्ट्रपति राजापाक्ष र निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्ष जिम्मेवार रहेको भन्दै जनता गत अप्रिलदेखि सडकमा उत्रिएका छन् ।

श्रीलंकामा राजनीतिक र आर्थिक संकट गहिरिँदै गएको छ । महँगी ५० प्रतिशतसम्म बढेको छ । राष्ट्रपति राजापाक्षले मुलुक छाडेर भागेका छन् । व्यापक विरोधपछि उनले मुलुकबाहिरबाटै राजीनामा दिएका छन् । –एजेन्सीको सहयोगमा

१८ बीमा कम्पनीको सेयर कारोबार रोक्का (सूचीसहित) Read Previous

१८ बीमा कम्पनीको सेयर कारोबार रोक्का (सूचीसहित)

देशभर ६० प्रतिशत रोपाइँ सम्पन्न Read Next

देशभर ६० प्रतिशत रोपाइँ सम्पन्न