काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत बीमा कम्पनीहरुमध्ये १९ वटाको सेयर कारोबार रोक्का भएको छ ।
बीमा समितिले तोकेको चुक्ता पूँजी पुर्याउनका लागि एक आपसमा मर्ज हुने सम्झौता गरेको ८ वटा जीवन बीमा र १० वटा निर्जीवन गरी कुल १९ वटा बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।
जीवन बीमातर्फ सूर्य लाइफ र ज्योती लाइफ, रिलायन्स लाइफ र सानिमा लाइफ, महालक्ष्मी लाइफ र प्रभु लाइफ तथा युनियन लाइफ, प्राइम लाइफ र गुँरास लाइफ बीच एक आपसमा मर्ज हुने सम्झौता गरेका छन् । यी मध्ये नेप्सेमा सूचीकृत नभएको महालक्ष्मी बाहेक अरु ८ कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।
त्यसैगरी, निर्जीवन बीमातर्फ सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स, एभरेष्ट र हिमालयन जनरल, जनरल र सानिमा जनरल, सगरमाथा र लुम्बिनी जनरल तथा प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स गरी १० कम्पनीले आपसमा मर्जरमा जाने सम्झौता गरेका छन् ।
यी मध्ये हिमालयन र एभरेष्टको मर्जर सम्पन्न भइसकेको छ । मर्जर प्रक्रिया सकिए पनि यी दुई सहित १० निर्जीवन बीमा कम्पनीको दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको छ ।
नेप्सेमा सूचीकृत आधा बढी कम्पनीको सेयर कारोबार रोक्का भएसँगै सेयर बजारमा बीमा कम्पनीको सेयर आपूर्ति पनि आधाले घटेको छ ।
गत चैतमा बीम समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी दोब्बरले बढाउँदै जीवन बीमाको ५ अर्ब र निर्जीवन बीमाको २ अर्ब ५० करोड रुपैयाँ पुर्याएको थियो । साथै, समितिले मर्जरमा जाने कम्पनीहरुलाई विभिन्न छुट सुविधा दिने घोषणा गरेको थियो । त्यसपछि बीमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेका हुन् ।
