काठमाडौं । नयाँ आर्थिक वर्ष २०७९/८० लाई सेयर बजारले हरियो झन्डा देखाएको छ । गत आर्थिक वर्षमा ३० प्रतिशतले घटेको नेप्से नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन झिनो अंकले बढेको हो ।
आइतबार नेप्से १.९३ अंकले बढेर २०११.३९ विन्दुमा पुगेको छ । यसदिन २१० कम्पनीको १ अर्ब २३ करोड २४ लाख ८८ हजार ८३ रुपैयाँ बराबरको ३० लाख ४५ हजार ८८९ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ उपसमूहको परिसूचकमा हरियाली छाएको छ भने ८ वटाको घटेको छ । लगानी समूहको परिसूचक सबैभन्दा धेरै ०.९१ प्रतिशतले बढेको छ भने होटल समूह सबैभन्दा धेरै १.२० प्रतिशतले घटेको छ ।
आज अपर तामाकोशीकोे सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरी पौने ५ करोड र अरुण काबेली साढे ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
झिनो अंकले बढेको बजारमा आज राधी जलविद्युत् कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ५.४८ प्रतिशत कमाएका छन् । त्यसैगरी, प्रभु बैंक ४.७३, नयाँ सारथी लघुवित्त ४.७३, कुमारी बैंक ४.१९, जनउत्थान लघुवित्त ३.९४, ग्रीन लाइफ हाइड्रोपावर ३.६०, सिभिल लघुवित्त, इमर्जिङ नेपाल, विजय लघुवित्त र डिप्रोक्स लघुवित्तको सेयर मूल्य ३ प्रतिशतले बढेको छ ।