काठमाडौं । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ । चाइना एक्जिम बैंकको २२ अर्ब रुपैयाँ ऋण सहयोगमा सन् २०१७ को नोभेम्बर महिनादेखि सुरू भएको सो विमानस्थलको ९८ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको हो ।
ठेकेदार कम्पनीले सन् २०२१ जुन १० भित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौत भए पनि कोरोना महामारीका कारण १ वर्ष पछि धकेलिएको छ । हालसम्म विमानस्थलको अधिकांश भौतिक संरचना निर्माण सम्पन्न भइसकेको छ भने फिनसिङ र उपकरण जडानका केही काम मात्र बाँकी छ ।
२ हजार ५०० मिटर लामो धावनमार्ग रहेको यस विमानस्थलमा बोइङ ७३७ र एयरबस ३२० वा सो सरहका जहाज आवतजावत गर्न सक्ने बताइएको छ । तर, सो विमानस्थलमा यी जहाज पनि ल्याण्ड हुन नसक्ने जानकारहरू बताउँछन् ।
सोभन्दा लामो रनवे रहेको भैरहवा विमानस्थल योभन्दा निकै कम खर्चमा बनाइएको छ । तर, २२ अर्ब खर्च गरेर बनाइएको पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको नभई नाम मात्रको अन्तर्राष्ट्रिय भएको एक हवाईविज्ञले बताए ।
उनका अनुसार पोखरा विमानस्थलमा त्रिभुवन र भैरहवा विमानस्थलमा ल्याण्ड हुने वाइडबडी जहाज उडान अवतरण गर्न सक्दैनन् । सो विमानस्थलमा लामो दूरीमा उडान गर्ने ठूला जहाज नभई छोटो दूरीमा उडान गर्ने मध्यमखालका जहाज मात्र ल्याण्ड हुन सक्ने उनले बताए ।
‘२२ अर्ब खर्चेर बनाइएको या विमानस्थलमा भन्नलाई बोइङ ७३७ र ए ३२० क्षमताका जहाजले उडान भर्न सक्छन् भनिएको छ, यो गफमा मात्र सीमित हुन्छ,’ उनले भने, ‘पोखरा डाँडाले घेरिएको र सो विमानस्थल वान वे एप्रोचका कारण ए ३१९ भन्दा ठूला जहाजले उडान भर्न सक्दैनन् । साथै रात्री उडान पनि सम्भव छैन ।’ पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनीका ठूला जहाज ल्याण्ड हुनै नसक्ने उनको भनाइ छ ।
आन्तरिक उडान भर्ने जहाजका लागि मात्र उपुक्त हुने उनको भनाइ छ । विमानस्थलको पूर्वतर्फ टाउँ डाँडा छ भने पश्चिमतर्फ साराङकोटको डाँडा रहेकाले ठूला जहाजहरू उडाउन र टु वे एप्रोचमा सम्भव छैन । झन्डै दुई हेक्टरमा ४० मिटर अग्लो डाँडा कुनै हालतमा हटाउन सम्भव छैन ।
विमानस्थलमा बैङकक, श्रीलंका लगायतबाट आउने साना जहाज ल्याण्ड गर्न सकिने भए पनि अन्य मुलुकबाट आउने जहाजहरू ल्याण्ड गर्न सम्भव छैन । उक्त कारणले यस विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा मान्न नसकिने उनले बताए ।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्यो तर, त्यो अन्तर्राष्ट्रिय उडानका लागि उपयोगी हुन्छ जस्तो लाग्दैन, डोमेस्टिक उडान गर्न सकिन्छ, तर, डोमेस्टिक प्लेन नै उडाउनु थियो भने यति धेरै खर्च गरेर यो बनाउनै पर्दैन थियो,’ उनले भने चाणक्य पोष्टसँग भने ।
२२ अर्ब खर्चेर बनाइएको यो विमानस्थलले रिटर्न नदिने उनले बताए । ‘विकसित देश भए पुरानो विमानस्थल राम्रो भएन, आन्तरिक उडानको लागि अर्को अलि राम्रो विमानस्थल बनाउँभन्दा ठीक हुन्थ्यो । तर, हाम्रो जस्तो विकाशोन्मुख देशमा रिटर्न आउँछ कि आउँदैन त्यो नहेरी ऋणमा विमानस्थल बनाउनु सही देखिँदैन,’ उनले भने, ‘साना जहाजले मात्र उडान गर्दा लगानी कहिले र कसरी उठछ ?’
‘वाइडबडी बाहेकका जहाज ल्याण्ड हुन सक्छन्’
आयोजना प्रमुख मुनकर्मीले वाइडबडी बाहेकका जहाज यस विमानस्थलमा उडाउन सकिने बताए । इन्टरनेश्नलको वान वे एप्रोच हुने र आन्तरिक विमानस्थलहरू टु वे एप्रोचको हुने गरेको उनले बताए । यो विमानस्थल ए ३२० सम्मका जहाज ल्याण्ड हुने गरी बनेको कारणले कुनै अवरोध नहुने उनले बताए ।
विदेशमा यो जहाजलाई आन्तरिक भनेर उडाउने गरे पनि यी जहाज अझै नेपालका अन्तर्राष्ट्रिय उडानका लागि ए३१९ र ए३२० उडाइने गरेको बताए । यी जहाजहरू नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्ने बताए ।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ए३१९ र ए३२० जहाज ल्याण्ड गर्न मिल्ने गरी डिजाइन सहित बनाइएको हो, यो अन्तर्राष्ट्रिय उडानकै लागि उड्ने जहाज हुन्, वाइडबडी ल्याण्ड हुन सक्दैन, मुनकर्मीले चाणक्य पोष्टसँग भने ‘दुवैतर्फ पहाड भएकाले वाइडबडी ल्याण्ड गर्न नमिलेको हो ।’
उनले वाइडबडी जहाज अटाउनका लागि दुवै तर्फका पहाड काट्नु पर्ने बताए । उनले यस विमानस्थलमा रात्री उडान सम्भव हुने बताए । रात्री उडानका लागि सबै उपकरण भएका कारण त्यसमा कुनै अवरोध नआउने उनले बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बनेको छ । ८ हजार स्क्यार मिटर अन्तर्राष्ट्रिय उडानका लागी र ६ हजार स्क्यार मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्यार मिटरको टर्मिनल भवन निर्माण भएको छ । वार्षिक ५ लाख क्षमता भएको टर्मिनल भवन निर्माण भएको छ ।
यस विमानस्थल निर्माणका क्रममा हालसम्म ७४.८ पतिशत आर्थिक प्रगति भइसकेको छ । यस अनुसार १८ अर्ब रुपैयाँ भ्याट सहित भुक्तानी भइसकेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए ।