काठमाडौं । वाणिज्य बैंकहरु धमाधम बिग मर्जरमा जान थालेका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको असार मसान्त भित्रै मर्जर हुने बैंकहरुले मात्र छुट सुविधा पाउने बताएसँगै बैंकहरु एक आपसमा मर्जरमा जान थालेका हुन् ।
चालु वर्षमा मात्र ६ वटा बैंकले बीग मर्जरमा जाने सम्झौता गरिसकेका छन् । यसैबीच, बुधबार हिमालयन बैंक र सिभिल बैंक बीच एक्वीजिसन (प्राप्ति) सम्बन्धी सम्झौता भएको छ ।
यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता भाँडेको हिमालयनले सिभिल बैंकलाई गाभ्ने सम्झौता गरेको हो । नेपाल राष्ट्र बैंकको काराबाहीमा परेको हिमालयन अन्य कुनै एउटा बैंकसँग मर्जरमा जानै पर्ने बाध्यतामा थियो ।
हिमालयनले ८१ प्रतिशत स्वाप रेसियोमा सिभिललाई गाभ्ने सहमति भएको हो । यसअघि पनि सिभिलसँग मर्जर सम्झौता गर्ने तय भए पनि हिमालयनका संचालकले सिभिलललाई ८१ प्रतिशत स्वाप रेसियो दिन नमान्दा प्रक्रिया बीचमै भड्किएको थियो ।
यस्तो बन्नेछ नयाँ बैंक
प्रारम्भिक सहमति अनुसार नयाँ बन्ने बैंकको नाम हिमालयन बैंक नै रहने छ भने प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका सीईओ अशोक राणा नै रहने छन् ।
नयाँ बन्ने बैंकको सञ्चालक समितिमा सिभिलका कुनै पनि सञ्चालन रहने छैनन् भने सिभल बैंकका हालका सीईओ नयाँ बैंकको डेपुटी सीईओ हुनेछन् ।कर्मचारीहरुको समायोजन दुवै बैंकबीच बराबरीको हैसियतमा हुने पनि सहमति बनेको छ।
हाल हिमालयन बैंकको चुक्ता पूँजी १२ अर्ब ९६ करोड ८७ लाख रुपैयाँ छ भने सिभिलको ९ अर्ब ७ करोड ५८ लाख रुपैयाँ छ । ०.८१ प्रतिशत स्वाप रेसियोमा गाभिँदा सिभिलको चुक्ता पूँजी ७ अर्ब ३५ करोड हुन आउँछ । यी दुईको मर्जरपछि बन्ने बैंकको एकीकृत चुक्ता पूँजी २० अर्ब ३१ करोड रुपैयाँँ नाघ्नेछ ।
६ महिनामा चौथौं बिग मर्जर सम्झौता
पछिल्लो ६ महिनाको अवधिमा भएको यो चौथो बिग मर्जर सम्झौता हो । चार वटा बिग मर्जर सम्झौता भए पनि अहिलेसम्म एउटा मात्रै सफल भएको छ । बाँकी ३ वटा मर्जर प्रक्रिया चलिरहेको छ ।
गत पुसमा नबिल बैं र नेपाल बंगलादेश बैंक बीच एकआपसममा प्राप्ति सम्बन्धी सम्झौता भएको थियो । दुई बैंक बीचको मर्जर प्रक्रिया सफल भई यही असार २७ गतदेखि एकीकृत कारोबार समेत सुरु भइसकेको छ ।
यस्तै, इन्भेष्टमेन्ट र मेगा बैंक बीच पनि प्रारम्भिक सम्झौता भई मर्जर प्रक्रिया चलिरहेको छ । त्यस्तै, साढे २ वर्ष अघि जनता बैंकलाई आफूमा गाभेको ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौं बीच मर्जर सम्झौता भएको छ ।