काठमाडौं । सिभिल बैंकको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । हिमालयन बैंकसँग मर्जरमा जाने समाचार बाहिरिएसँगै लगानीकर्ताहरु सिभिलको सेयरमा आकर्षित भएका हुन् ।
यसअघि हिमालयन बैंकसँग मर्जर सम्झौता गर्ने तय भइसकेपछि पनि हिमालयन बैंकका संचालकले सहमति अनुसारको स्वाप रेसियो दिन तयार नहुँदा बीचमै भाँडिएको थियो ।
तर, मंगलबार बेलुका दुई बैंकका संचालक बीच फेरि एकआपसमा मर्ज हुने सहमति भएको बताइएको छ । सम्भवतः आजै (बुधबार) मर्जर सम्झौता हुन सक्ने जनाइएको छ । हिमालयनले सिभिललाई १००ः८१सेयर अनुपातमा मर्जर गर्ने सहमति भएको बताइन्छ ।
हिमालयन बैंकसँग मर्ज हुने सम्भावना बढेसँगै बैंकको सेयर किन्नेको ओइरो लागेको छ । बुधबार मध्याह्न १२ः१३ बजेसम्म बैंकको १ लाख २४ हजार बढी कित्ता सेयर किनबेच भइसकेको छ भने १ लाख २ हजार बढी कित्ता खरिदका लागि अर्डर भएको छ ।
यस अवधिसम्म बैंकको सेयर मूल्य पनि उच्च वृद्धि भएको छ । यसबेलासम्म बैंकको सेयर मूल्य ७.७२ प्रतिशतले बढेर प्रतिकित्ता २१२ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार बैंकको अन्तिम कारोबार प्रतिकित्ता १९६.८ रुपैयाँमा भएको थियो ।