फ्रान्सेली ‘लुभ्र होटेल्स’ ग्रुपले सौराहाको पाँचतारे रिसोर्ट ‘रोयल टुलिप’ संचालन गर्ने

काठमाडौं । पर्यटकीय नगरी चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप’ संचालनमा आउने भएको छ । हस्पिटालिटी व्यवसायमा विश्व बजारमा सफलता हासिल गरिरहेको फ्रान्सेली ‘लुभ्र होटल्स’ ग्रुपसँगको ब्राण्ड सहकार्यमा रिसोर्ट संचालनमा आउने भएको हो ।

मंगलबार आयोजित एक समारोहमा परराष्ट्र मन्त्री माननीय डा। नारायण खड्काको उपस्थितिमा केटिएम हस्पिटालिटीका तर्फबाट अध्यक्ष रामेश्वर शाह र लुभ्र होटल्स इण्डियाका निर्देशक अजय बकायाले ब्राण्ड सम्झौतामा हस्ताक्षर गरे ।

केटीएम हस्पिटालिटीका अध्यक्ष शाहले पर्यटन क्षेत्र सदैव नेपालीको अर्थतन्त्रको बलियो खम्बा भइरहँदा भएकोले कोभिड महाव्याधिले अकल्पनीय रुपमा थला पारेको अवस्थामा गुणस्तरीय सेवामार्फत् पर्यटक आकर्षित् गरी देशको अर्थतन्त्रमा गहकिलो योगदान दिने विश्वासका साथ रिसोर्ट संचालन हुन लागेको बताए।

लुभ्र होटल्सका निर्देशक बकायाले नेपाल पर्यटकीय गन्तव्यको ‘हटस्पट’को रुपमा अगाडि बढिरहेको हुँदा भारतीय लगायत विश्वभरबाट यहाँ आउने पर्यटकलाई आफूहरुले आरामदायी र भरपर्दो सेवा दिनेमा विश्वस्त गराए ।

यस्तै परराष्ट्रमन्त्री डा. खड्काले पर्यटनको ‘हब’ नेपालमा विश्वस्तरको अनुभव सँगालेको ब्राण्ड भित्रिनु गौरवको विषयभएको बताए ।

युरोपकै दोस्रो ठूलो तथा विश्वबजारमा ११ वटा विभिन्न ब्राण्ड सहित उपस्थित रहेको लुभ्र होटल्स ग्रुपको लक्जरी पाँचतारे होटल ब्राण्ड ‘रोयल टुलिप’ ले कोभिड महाव्याधिका बीच शिलान्यास भई निर्माण सुरु भएको ६४ कोठा सहितको यस रिसोर्टको सम्पूर्ण व्यवस्थापन सम्हाल्नेछ ।

कोभिड महाव्याधिले थलिएको अर्थतन्त्रलाई सहयोग गर्ने र रोजगारी सहित विदेशी मुद्रा सञ्चिति बढाउन मद्दत गर्ने उद्देश्य सहित २०७७ मंसिर १५ मा तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराई र श्रम मन्त्री रामेश्वर राय यादवले संयुक्त रुपमा शिलान्यास गरेको यस रिसोर्टलाई सुरुमा अत्याधुनिक सुविधासम्पन्न बुटिक रिसोर्ट ‘दि फरेस्ट फ्रन्ट’का नामबाट सञ्चालनमा ल्याउने तयारी गरिएको थियो ।

वनजंगल, वन्यजन्तु, कला संस्कृति एवं हावापानीले सबैलाई मन्त्रमुग्ध बनाउँदै आएको सौराहामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि विश्वस्तरको गुणस्तरीय सेवा दिने हेतुले निर्माण थालिएको अत्याधुनिक रिसोर्टलाई विश्वभरका ६० भन्दा बढी देशहरुमा १ हजार ६ सय भन्दा बढी होटलहरु सञ्चालन गरेको अनुभव सहितको ब्राण्डसँगको सहकार्यले झनै उचाईमा लैजाने विश्वास लिइएको छ ।

करिब ३४ रोपनी क्षेत्रमा बनाइएका २२ वटा भवनमा सुईट्लगायत ५ प्रकारका विविध सुविधा सहितका कोठाहरु रहने रिसोर्टमा आगन्तुक पाहुनाहरुले डुंगा सयर, जलमहलको बास, स्विमिङ पुल, हेल्थ क्लब, स्पा, चिल्ड्रेन पार्क, एमपी थियटर, पदयात्रा मार्ग, आफ्नै बेकरी सहितको ग्रिल बार र रेष्टुरेण्ट जस्ता सेवाहरु पाउने छन् ।

नेपाली संस्कृति झल्किने स्थानीय र मौलिक सामग्रीहरुको प्रयोग गरी निर्माण हुँदै गरेको रिसोर्ट निर्माण भइसक्दा करिब ८५ करोड रुपैयाँ कूल लागत लाग्ने अनुमान छ । रिसोर्ट विक्रम संवत् २०८० को दशैंताका सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

ट्रयाक खुलेको १६ वर्षपछि सडक कालोपत्र Read Previous

ट्रयाक खुलेको १६ वर्षपछि सडक कालोपत्र

मर्जरको हल्लाले सिभिल बैंकको सेयरमा उच्च आकर्षण, कति पुग्यो भाउ ? Read Next

मर्जरको हल्लाले सिभिल बैंकको सेयरमा उच्च आकर्षण, कति पुग्यो भाउ ?